महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ।
पर्वलाई मिथिलाञ्चलको गाउँ बस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ।
संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरू जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउँछन्।
महिलाहरूले आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवतीदेवीले बताइन्।
महिलाहरूले पूजा सकाएपछि घरका सबै सदस्यहरूले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचन पर्व सम्पन्न भएपछि परिवारका सदस्यहरू आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खाने चलन छ। रासस