न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ अगष्ट । हङकङका लागि नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले आज बिहीबार जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयका हङकङ विशेष प्रशासनिक क्षेत्रका आयुक्त सुई जियानचुनसँग भेटवार्ता गर्नुभयो। उक्त भेटमा नेपाल र चीनबीचको ७० औँ कूटनीतिक सम्बन्धको अवसरमा बधाई सन्देश आदानप्रदान गरियो।
महावाणिज्यदूत डा. लेखकले नेपालको एक चीन नीति र चीनसँगको लामो समयदेखिको मित्रतापूर्ण सम्बन्धको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हङकङको विकास र समृद्धिलाई उदाहरणीय बताउँदै आर्थिक र श्रम कूटनीतिमा सहकार्य गर्न इच्छा व्यक्त गर्नुभयो। साथै, हङकङमा बस्ने नेपाली समुदायको कल्याण र ट्रान्जिट भिसासम्बन्धी विषयमा पनि छलफल भयो।
आयुक्त सुईले डा. लेखकलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै हङकङको “एक देश, दुई प्रणाली” र वित्तीय तथा व्यापारिक हबको विशेषतालाई नेपालका लागि उपयोगी भएको बताउनुभयो। भेटमा उच्चस्तरीय भ्रमण, जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शाङ्घाई सहयोग सङ्गठन सम्मेलन २०२५ मा सहभागिताको चर्चा पनि भयो।
भेटमा आयुक्तको तर्फबाट उपनिर्देशक झु मिन र तेस्रो सचिव चेन वेनजिङ, तथा महावाणिज्यदूतको तर्फबाट काउन्सिलर सतिश गुरुङ उपस्थित थिए।
– पशन तमू । हङकङ