काठमाडौं, २५ भदौ २०८२ – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उत्पन्न राजनीतिक शून्यताको अवस्थालाई सम्बोधन गर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईसँग छलफल गरेका छन्। यो छलफल भद्रकालीस्थित जंगी अड्डामा आयोजना गरिएको थियो।
जेनजी आन्दोलनको चर्को दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा राजनीतिक अनिश्चितता बढेको छ। यही सन्दर्भमा अन्तरिम सरकार गठनको सम्भावनालाई लिएर नेपाली सेनाले विभिन्न पक्षहरूसँग वार्ता र छलफललाई तीव्रता दिएको छ। प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलनका प्रतिनिधिहरूसहित विभिन्न समूहसँग समेत छलफल गरिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति सिग्देलले आन्दोलनरत पक्षहरूलाई वार्तामा आउन आह्वान गरेका छन्। दुर्गा प्रसाईले छलफलपछि देशको निकासलाई प्राथमिकता दिने बताउँदै आफूलाई नेतृत्वको मोह नभएको र जेनजी पुस्ताको आवाजलाई सम्मान गर्ने उल्लेख गरेका छन्। उनले बालेन शाह वा शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठनको प्रस्तावलाई समेत समर्थन गर्न सकिने बताएका छन्।
हर्क साम्पाङसँगको छलफलका विस्तृत विवरण भने सार्वजनिक भएको छैन। तर, यो भेटघाटले देशको पछिल्लो राजनीतिक अवस्थालाई सम्बोधन गर्न र निकासको बाटो खोज्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाली सेनाले सबै पक्षलाई समेटेर शान्तिपूर्ण र समावेशी तरिकाले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ। यो छलफलले अन्तरिम सरकार गठन र राजनीतिक स्थायित्वका लागि नयाँ दिशा प्रदान गर्ने विश्वास गरिएको छ।