काठमाडौं, २५ भदौ २०८२ – नेपालको राजनीतिक परिदृश्यमा नयाँ अन्तरिम सरकारको नेतृत्वको खोजी तीव्र बनेको छ। जेनजी पुस्ताले नयाँ नेतृत्व चयनको प्रयास गरिरहँदा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई र व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले देशको नेतृत्व लिन तयार रहेको दाबी गरेका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन्। उनले देशमा देखिएको राजनीतिक शून्यताको अवस्थालाई सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गरिन्।
यसैगरी, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पनि देशको प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन्। बुधबार जंगी अड्डा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “जेनजी युवाहरूले नेतृत्वका लागि मलाई विचार गरेका छन्, त्यसैले म प्रधानमन्त्री बन्न तयार छु।”
त्यस्तै, व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले पनि आवश्यक परेमा नेतृत्व लिन तयार रहेको बताएका छन्। उनले देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न आफू सक्षम रहेको दाबी गरे।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उत्पन्न राजनीतिक शून्यताको समाधान खोज्न हर्क साम्पाङ र दुर्गा प्रसाईसँग छलफल गरेका छन्। सिग्देलले नेतृत्वको खोजीमा जेनजी पुस्ताको सक्रियताको प्रशंसा गर्दै उनीहरूसँग सहकार्य गर्न तयार रहेको बताए।
जेनजी पुस्ताले नेतृत्व चयनका लागि लाइभ मिटिङ गरेका थिए। उनीहरूको पहिलो रोजाइमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रहेका थिए। तर, बालेनले नेतृत्वप्रति रुचि नदेखाएपछि नयाँ नेतृत्व चयनमा कठिनाइ भइरहेको हो। जेनजी पुस्ताले नेतृत्वको लागि सुशीला कार्कीको नाममा लगभग सहमति जनाइसकेको छ।