पोखरा, सहारा क्लब हङकङका सल्लाहकार एवं समाजसेवी देव गुरुङले सहारा क्लब पोखरा र एकेडेमीमा निरन्तर सहयोग गर्दै आएका छन्। लोकदोहोरी गायक, सर्जक तथा कानून व्यवसायीसमेत रहेका गुरुङले नेपाल आएको बखत पुनः सहयोग गरेका छन्।
बुधबार पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी पुगेर उनले पत्नी मीना गुरुङ, छोराबुहारी प्रिन्स र यमुना तथा छोरी पायल गुरुङको तर्फबाट एकेडेमीका बालकहरूका लागि ३० थान जर्सी सहयोग गरे। यस्तै, बालकहरूका लागि खाजाको लागि नगद १५ हजारसहित करिब ५० हजार बराबरको सहयोग प्रदान गरे। उक्त सहयोग उनले क्लबका नवनिर्वाचित अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरे।
देव गुरुङ यस्ता व्यक्ति हुन्, जसले आहा रारा पोखरा गोल्डकपका लागि बर्सेनि ५१ हजार रुपैयाँ आजीवन प्रदान गर्ने घोषणा गरेका छन्। नामै ‘सहारा’ भएको र क्लब परिवारले पनि समाजमा केही गर्नुपर्छ भन्ने भावना बोकेको हुँदा आफूले सहयोग गर्दै आएको उनले बताए।
क्लबको १४औँ अधिवेशनबाट केशवबहादुर थापाको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले उनलाई एकेडेमीमा स्वागत गरेको थियो।
क्लबका सहकोषाध्यक्ष एवं एकेडेमी संयोजक विष्णु गुरुङले गुरुङ दम्पतीलाई फूलगुच्छा र अध्यक्ष थापाले खादा लगाएर स्वागत गरे। कार्यक्रममा क्लब अध्यक्ष थापाले एकेडेमीबारे जानकारी दिँदै निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। कार्यक्रमको सञ्चालन क्लबका महासचिव गंगाराज पौडेलले गरे।
सो अवसरमा क्लबका पूर्वअध्यक्षहरू विक्रम थकाली, वीरभद्र आचार्य, हरिराम गुरुङ (सुरज), सचिव ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, कार्यसमिति सदस्यहरू अमर राज भण्डारी, प्रमिला घले, विजय गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठलगायतको उपस्थिति थियो।
सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीमा हाल चौथो ब्याचमा विपन्न तथा कठिन परिस्थितिका ३० जना बालकहरू आश्रित छन्। उनीहरूलाई क्लबले निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा र फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ।