ओलीको भनाईले प्रचण्ड चुप, सरकार फेर्ने हल्ला फेरि रोकियो

सरकार परिवर्तनको चर्चाले व्यापकता पाइरहेका बेला नेपाली कांग्रेसभित्र अन्तरसंघर्ष चर्किएको छ भने नेकपा एमालेभित्र पनि ओलीलाई हटाउने अन्तरघाती खेल सुरु भएको छ । नेकपा माओवादी केन्द्रले साथ नदिने हो भने नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउन सक्ने स्थिति छैन कि त यी दुवै मिलेर संयुक्त सरकार बनाउन सक्नुपर्यो नत्र भने माओवादी केन्द्रलाई वैशाखी नबनाएर कांग्रेस र एमाले हिंड्न सक्ने अवस्थामा छैनन् ।

माओवादी केन्द्रले एमालेसितको सहकार्यलाई निरन्तरता दिएसम्म कांग्रेसले सत्ता साझेदारी नगर्ने भएको छ । ओलीको विकल्प खोज्न हुँदैन भन्ने आवाज पनि कांग्रेसभित्र उठिरहेको छ । ओलीको विकल्प खोज्नुभन्दा निर्धारित चुनावका लागि तयारीमा लाग्न कांग्रेसभित्रको रामचन्द्र पौडेलपक्षले जोड दिएको खबर जनधारणा साप्ताहिकले छापेको छ ।

ओलीको विकल्प खोज्न अरु पार्टीहरूमाभन्दा नेकपा एमालेभित्र चर्काे चलखेल भइरहेको छ । माधव नेपाल र झलनाथ खनालले ओलीविरुद्ध सकुनी खेल खेलिरहेका छन् । माओवादी केन्द्रलाई जसरी पनि सरकारबाट बाहिर गराउन माधव र झलनाथ कस्सिएर लागिरहेका छन् ।

यता माओवादी केन्द्रमा भने नेपाली कांग्रेसभन्दा एमालेसँगकै सहकार्यले प्राथमिकता पाउने भएको छ । स्रोतका अनुसार बरु माओवादी केन्द्रका तर्पmबाट सरकारमा प्रतिनिधित्व गरिरहेकामध्ये केहीलाई परिवर्तन गरेरै भए पनि वर्तमान गठबन्धनलाई नै निरन्तरता दिएर अगाडि बढ्न पर्ने निष्कर्ष नेतृत्वले लिएको थाहा भएको छ ।

वर्तमान गठबन्धनको विकल्पमा सहमतिको सरकार गठन गर्ने सवालमा नेपाली कांग्रेसभित्रै अन्तरविरोध देखिएकाले कांग्रेसलाई नै वर्तमान सरकारमा सहभागी गराउन माओवादी केन्द्रले पहल गर्नुपर्ने सुझाव पार्टीपंक्तिबाट आइरहेको पार्टी सूत्रबाट थाहा भएको छ ।

वर्तमान सरकारलाई नै निरन्तरता दिनका लागि एमाले र माओवादी केन्द्रबीच भएको नौ बुँदे सहमतिलाई कार्यान्वयन गर्न माओवादी केन्द्रले जोड दिएको छ । केन्द्रसँगको सहमति कार्यान्वयन गर्ने कुरामा प्रधानमन्त्री केपी ओलीले पहल गर्ने प्रतिबद्धता प्रचण्डसँगको भेटमा व्यक्त गरेपछि सरकारको विकल्प खोज्ने काम तत्कालका लागि स्थगित भएको सूत्रले जनाएको छ ।





Comments

comments

Leave a Reply

13389