भोटेकोसीको बाढीले बगायो २० घर

तातोपानी गाविसका बासिन्दा मंगलबार राति १० बजे सुत्ने तरखरमा थिए । तर, त्यतिखेरै प्रहरीले भोटेकोसीमा ठूलो बाढी आएको जनाउ दियो । स्थानीय दुई सय घरपरिवारको निद्रा हरायो । सबै घर छाडेर भागे ।

चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी, लिपिङ, मार्मिङ, बाह्रबिसेलगायतका स्थानमा ठूलै त्रासदी फैलियो । भोटेकोसीमा उर्लेको बाढी बस्तीमै पस्यो । कतिपय परिवार ज्यान जोगाउन भागेर जुरेनजिक आइपुगे । केही भने काभे्रको दोलालघाट र आसपासका क्षेत्रमा आइपुगे ।

बाढीले तातोपानी गाविसस्थित मानसरोवर बोर्डिङ स्कुल सँगै २० घर बगाएको छ । माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको १० किलोस्थित बाँध ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भोटेकोसीले कटान गर्दा अरनिको राजमार्गकिनारमा रहेको लिपिङ बजारका धेरै घर भत्किएका छन् । पूरै बजार क्षेत्र उच्च जोखिममा छ ।

तातोपानी भन्सारको क्यान्टिन र दुईवटा ट्रिपर पनि बाढी बगाएको छ । बाह्रबिसेको मोटर ग्यारेजबाट एक टाटासुमो र एक जिपसमेत बगाएको छ । बाह्रबिसेस्थित कुखुरा फर्म, प्लाई फर्म, ब्लक उद्योग र जाली बुन्ने उद्योग डुबानमा परेको खबर नयाँ पत्रिका दैनिकमा छ।

बाढीले बाह्रबिसे–तातोपानी सडकखण्डको कोदारीमा ५० मिटर पक्की सडक कटान गरिसकेको छ । बाढी सडकसम्मै पसेपछि मंगलबार रातिदेखि अरनिको राजमार्ग अवरुद्ध छ । ठाउँठाउँमा बिजुलीको पोल ढलेकाले विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध छ ।

बाढीले जुरे पहिरोपछि बनाइएको सडक पनि कटान गरेको छ । लेदो माटोले सडक ढाकेपछि बाह्रबिसेदेखि तातोपानीसम्मको यातायात पनि ठप्प छ ।





Comments

comments

Leave a Reply

13386