कोलोराडोमा योमरी पुन्ही कार्यक्रममा ‘इन्दिरा धिमे मैचा’ फिल्म प्रदर्शन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेवाः समुदायले योमरी पुन्ही कार्यक्रममा नेवारी भाषामा निर्मित फिल्म ‘इन्दिरा धिमे मैचा’ हेर्दै स्वादिष्ट योमरी खाँदै मनाएका छन्।

कोलोराडो नेवाः खलःले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बालबालिकाहरूले ‘त्यो सिन त्यो वकसिन त्यो’ भन्दै पैसा मागेका थिए। त्यसैगरी कार्यक्रममा सहभागीहरूले यथाशक्य दान गर्दै, उपस्थितहरूबीच शुभकामना आदानप्रदान गर्दै तथा हर्षोल्लासका साथ नेवारी भाषामा निर्मित फिल्म ‘इन्दिरा धिमे मैचा’ हेर्दै योमरी पुन्ही मनाएका हुन्।

कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा डिसेम्बर १४ तारिख सम्पन्न कार्यक्रममा कोलोराडोस्थित विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, कलाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा नेवाः समुदायका बा–आमा, दाजुभाइ–दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सहकाल तथा सम्पन्नताका देवता कुवेर र गणेशको पूजा गरी सुरु गरिएको कार्यक्रममा आयोजक संस्था नेवाः खलःका अध्यक्ष भूषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्त्वबारे चर्चा गरेका थिए। उनले यसको इतिहास कोट्याउँदै नेवाः समुदायमा यस पर्वलाई दान दिने दिनको रूपमा पनि चिनिने गरेको बताउँदै सबैलाई यथाशक्य दान गर्न अनुरोध गरे।

सविता श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बालबालिकाहरूले घरघरमा गएर योमरीसँगै पैसा माग्ने चलनअनुसार यहाँ पनि सबै उपस्थित महानुभावहरूसमक्ष गएर दान सङ्कलन गरेका थिए। कार्यक्रममा कलाकारहरूले नेवारी परम्परागत धिमेबाजा र नेवारी गीतसङ्गीत बजाएर आफ्नो संस्कृतिको पहिचान गराएका थिए।

ऐतिहासिक कथनअनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पती बस्दथे। उनीहरूको चर्चा संसारभर फैलिएको थियो। एक दिन कुवेरलाई पनि उनीहरू कत्तिका दानी रहेछन् भनी बुझ्न दरिद्रको भेष गरी ती दम्पतीको घर गएछन्।

सुचन्द्र दम्पतीले बढो श्रद्धापूर्वक भोजन गराएको देखी खुसी भई कुवेरले योमरीको महत्त्व बताएछन्। नयाँ अन्न भित्र्याएपछि भकारीमा गणेश, कुवेर र तिनका वाहनसहितको प्रतिमा बनाई तिनलाई योमरी चढाउने विधि बताएर कुवेर अन्तर्धान भएछन्। त्यो दिन मंसिर शुक्ल पूर्णिमा परेको थियो। त्यसैबेलादेखि योमरी पुन्ही मनाउने चलन रहेको बताइन्छ।

कार्यक्रमको दोस्रो चरणमा हालै नेवारी भाषामा निर्मित चलचित्र ‘इन्दिरा धिमे मैचा’ प्रदर्शन गरिएको थियो। वास्तविक घटनामा आधारित, गोपालकृष्ण महर्जनद्वारा निर्मित, सुरेन्द्र तुलाधरद्वारा निर्देशित तथा कोलोराडो नेवाः खलः सहनिर्माता रहेको फिल्म प्रदर्शन गरिएको हो।

महिलाले नेवारी बाजा बजाउँदा नाटेश्वर देवता रिसाउँछन् भन्ने परम्परागत धार्मिक मान्यतालाई चिर्दै भक्तपुर दत्तात्रय टोल निवासी इन्दिरा लाछीमैजुले आफ्नो इच्छा र चाहनाअनुसार बाधा र अड्चनबीच पनि परम्परागत नेवारी धिमे बाजा बजाएर देखाइदिएकी थिइन्। फिल्म उनैको आत्मकथामा आधारित रहेको कोलोराडो नेवाः खलःका महासचिव सञ्जय शाक्यले प्रष्ट्याएका थिए। इन्दिराले अहिले धिमेबाजामा मास्टर गरिसकेकी छिन्। यस फिल्म अमेरिकाका विभिन्न स्टेटहरूमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम स्थलमा नै मयजु कल्ब सदस्यहरूले योमरी तयार पारेर कार्यक्रममा सहभागीहरूलाई तातो तातो स्वादिष्ट योमरी वितरण गरेका थिए। मातृभूमिबाट यति टाढा रहेर पनि आफ्नो संस्कृतिको पहिचानका लागि नेवाः समुदायले आयोजना गरेको योमरी पुन्ही कार्यक्रम प्रभावकारी रहेको थियो।





Comments

comments

134687