स्पोर्टस समिटमा विश्वकप ट्रफी

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा टी–ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ।

भारत र श्रीलंकामा फेब्रवरीमा हुने टी–ट्वान्टी विश्वकप आयोजना हुनेछ र सोही क्रममा ट्रफी नेपाल आइपुगेको हो। ट्रफी सोमबार पोखरा आइपुगेको हो र त्यसलाई स्पोर्टस समिटमा प्रदर्शन गरिएको हो।

सो समिटको अवसरमा प्यानल छलफल गरिएको थियो र विषय थियो– पोखरामा खेल पर्यटन र अर्थतन्त्र। पोखरेली पत्रकार दीपेन्द्र श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा विशेषज्ञका रूपमा सहभागी हुनेमा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्मा, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव टंकलाल घिसिङ, पोखरा टुरिजम काउन्सिलका संस्थापक अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई रहेका थिए।

कार्यक्रममा शर्माले पोखरामा खेलकुदको सम्भावना धेरै रहेको बताए। उनले पर्यटन प्रवर्द्धनका लागि सधैं नयाँ आयाम चाहिएकोमा खेलकुद त्यसको विकल्प हुन सक्ने बताए। परिषद्का पूर्व सदस्य घिसिङले पोखराको खेल पर्यटनको विकास र विस्तार गर्न निजी क्षेत्रको प्रत्यक्ष सहभागिता आवश्यक रहेकोमा जोड दिए। उनले यसका लागि नीति नै बनाउनुपर्ने बताए।

यस्तै भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो गरे। उनले खेल प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक समन्वय नभइरहेको दाबी गरे। पालिखेले पनि पोखरा भौतिक पूर्वाधारमा निकै धनी रहेको तर त्यसको उपयोग भने कम भएको बताए। उनले पोखरामा जति प्रतियोगिता भएका छन्, तिनलाई प्रोत्साहन आवश्यक रहेको बताए।





Comments

comments

134983