वी विल राइज फाउन्डेसनको बोर्ड निर्देशकमा विनोद गुरुङ र राज गुरुङ नियुक्त

एचकेनेपाल डट कम –
हङकङ, १२ जनवरी। वी विल राइज फाउन्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको छ।

हङकङलाई आधार बनाएर सामाजिक गतिविधिहरू विस्तार तथा सुदृढ गर्ने उद्देश्यसहित विनोद र राजलाई बोर्डमा समावेश गरिएको फाउन्डेसनले जनाएको छ। हङकङस्थित व्यवसायी दुबै सामाजिक अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। विनोद गुरुङ हङकङमा क्रियाशील सामाजिक संस्था सिद्धार्थ परिवारका अध्यक्षसमेत हुन्।

फाउन्डेसनका संस्थापक अध्यक्ष तुलसी गुरुङले सोमबार दुईजनालाई हङकङमा आयोजित एक समारोहबीच नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा बोर्डका निर्देशक निर्मल श्रेष्ठ र सुरज गुरुङसहित हङकङस्थित पत्रकारहरूको उपस्थिति रहेको थियो।

फाउन्डेसनका अनुसार विनोद र राजको उद्यमशीलता, व्यावसायिक अनुभव तथा नेपाल र हङकङ दुवै स्थानमा सामाजिक सक्रियताप्रतिको प्रतिबद्धताले वी विल राइजको दृष्टिकोण र अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त राज गुरुङले गत वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। उनको यो उपलब्धिलाई साहस, अनुशासन र नेतृत्व क्षमताको प्रतीकका रूपमा हेरिएको फाउन्डेसनले जनाएको छ।

भूकम्पपछि स्थापित वी विल राइज फाउन्डेसन विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ।

फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

135102