‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ ग्रन्थको लोकार्पण

काठमाडौं, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले प्रा.डा. दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको आज यहाँ लोकार्पण गरेका छन्।

वानीरा फाउन्डेसनद्वारा आयोजित समारोहमा प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले भने, ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा. दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठूलो न्याय गरेका छन्।’

लेखक प्रा.डा. दयाराम श्रेष्ठले भने, ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा मैले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु । यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो र मेरो अभियानको प्रथम कोसेली पनि हो।’

नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले भने, ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम हो र कथाका अध्येता तथा अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्नेछ।’

कार्यक्रममा कथाकार इन्दिरा प्रसाईले भनिन्, ‘प्रस्तुत ग्रन्थ मेरो लेखनयात्राको स्वर्णिम उपलब्धि हो।’

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सञ्चालित सो समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा. ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाई, सदस्यसचिव वानीरा फाउन्डेसनले कृतिबारे प्रकाश पारेका थिए।

काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष तथा समाजसेवी सरोज ढकालले भने, ‘नेपाली साहित्यकी विश्व नारी रत्न वानीरा गिरी हाम्रो देशकै गौरव हुनुहुन्थ्यो । उहाँको सम्मानमा काठमाडौं महानगरपालिकाले यस क्षेत्रलाई ‘वानीरामार्ग’ नामकरण गरेको छ।’

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुन् । उनले ३६ वर्ष प्राध्यापन गरेका छन् र उनका ३० वटा कृति प्रकाशित भइसकेका छन्।

यो ग्रन्थले नेपाली कथा साहित्यको समालोचनात्मक क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।





Comments

comments

135178