काठमाडौँ । फिल्म पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका दिनेश सिटौला(४४) को निधन भएको छ।
उनी शुक्रबार अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी अभियानको रिपोर्टिङका क्रममा अचानक बेहोस भएका थिए।
तत्कालै नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याइए पनि उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो।
ग्राण्डी इन्टरनेसनल अस्पतालका अनुसार सिटौलालाई गम्भीर हाइपोक्सिक ब्रेन इन्जरी भएको थियो। ब्रेन हेमरेजपछि शल्यक्रिया गरी रगतको क्लट निकालिए पनि न्यूरोलोजिकल रिकभरी नभएको र आइतबार दिउँसो १२:४५ बजे उनलाई मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।
सिटौला काठमाडौंबाट विशेष रूपमा सुदूरपश्चिम पुगेका थिए। उनी फिल्म पत्रकार संघ नेपालका पूर्वअध्यक्ष समेत थिए। नुवाकोट स्थायी घर भएका सिटौला पछिल्लो समय रास्वपा नेता बालेन शाहसँग नजिक रहेर राजनीतिक गतिविधिमा पनि सक्रिय थिए।


