नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। कोलोराडोमा सक्रिय नेपालीभाषी समुदायको जेठो सामाजिक संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको हालै सम्पन्न कार्यसमितिको बैठकले ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।
संस्थाको कार्यसमितिको बैठकबाट सर्वसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरूमा निलम श्रेष्ठ, चन्द्रमान गुरुङ, धर्मराज श्रेष्ठ, संजय सिंह, शोम बराल, राज ढुङ्गाना र टिका पौडेल रहेका छन्।
कोलोराडोको नेपालीभाषी समुदायमा रहेर विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउनुहुने समाजसेवी महानुभावहरूलाई संगठित गरेर सल्लाहकार समिति चयन गरिएको संस्थाका अध्यक्ष आकृति राईले बताएकी छिन्।
संस्थाले कोलोराडोमा नेपाली भाषा, संस्कृति संरक्षण र पहिचानको लागि बडादशैं, नेपाली नयाँ वर्षलगायत विभिन्न चाडपर्वहरूमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। त्यसैगरी संस्थाले नेपाल र नेपालीको पहिचानको लागि नेपाली परेड, समर पिकनिकलगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितको र सहयोगको लागि स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरूलाई सहयोग आवश्यक परेमा अन्य संघसंस्थाहरूसँग समन्वय गरी सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आएको छ।


