साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो

कास्की । घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो।

बङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याटिक गरिन् । खेल सुरु भएको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाको गोलमार्फत अग्रता बनाएकामा पहिलो हाफको इन्जुरी समयमा अक्तरले अग्रता दोब्बर पारिन्।

नेपाल पहिलो हाफमा दुई गोलले पछि परेपछि दोस्रो हाफमा खेलमा फर्कन सङ्घर्ष गरिरहेको थियो । खेलको ६७औँ मिनेट र ८२ औँ मिनेटमा अख्तरले गोल गरेपछि बङ्गलादेश फाइनलमा पुग्न सफल भयो । लिगका तीनवटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बङ्गलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

भारतले आजनै सम्पन्न लिगचरणको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो । प्रतियोगितामा दुई जित र एक हार बेर्होरेको भारत ६ अङ्क जोडेर फाइनल पुगेको हो । लिग चरणका शीर्ष दुई टोली भारत र बङ्गलादेशकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको दुई खेलमा हार र एउटामा जित निकालेको नेपालले तीन अङ्क जोड्दा भुटानले कुनै पनि अङ्क जोड्न सकेन।





Comments

comments

135411