दार्चुला। सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ। बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो।
सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ। यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले प्रहरी टोली पनि कारागार सुरक्षार्थ खटिएको छ।
सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा नेपाली सेना खटिएको हो। सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको हो।


