कोलोराडोमा महाशिवरात्रिको अवसरमा भजन कीर्तन तथा प्रवचन कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। महाशिवरात्रिको पावन अवसरमा कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कीर्तन, प्रवचन तथा आरतीसहित आराध्यदेव शिवको आराधना गर्दै भव्यताका साथ महाशिवरात्रि पर्व मनाइएको छ।

भगवान् शिवको महिमालाई स्मरण गर्दै भक्ति, श्रद्धा, आध्यात्मिक ऊर्जा साटासाट तथा भजन कीर्तन, प्रवचन र आरतीसहित सम्पूर्ण श्रद्धालु भक्तजनहरूले शिवरात्रि पर्व मनाएका हुन्। नेपाली घरको आयोजनामा तथा कोलोराडो स्थित विभिन्न संघसंस्था तथा दाताहरूको सहयोगमा आइतबार दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शिवको भजन तथा कीर्तन, दीप प्रज्वलन, आरती तथा प्रसाद वितरण गरिएको थियो।

नेपाली घरका रिसोर्स तथा फेसिलिटी अफिसर पुष्कर बस्नेतको संयोजनमा नेपाली भाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा पण्डित जीवन बराल गुरुबाट सुमधुर भक्ति सङ्गीतसहित प्रवचन तथा गुरु श्याम खनालबाट शिवको महिमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा कोलोराडो बाल भजन मण्डली, शिवशक्ति भजन समूह, सिस्टर ग्रुप दिदीबहिनी समूह कोलोराडोले सुन्दर भजन प्रस्तुत गरेका थिए। विशेष गरी कोलोराडो बाल भजन मण्डलीका बाल कलाकारहरूको प्रस्तुतिले सबैको मन जितेको थियो।

भगवान् शिवको आशीर्वाद प्राप्तिसँगै भक्ति र एकताको सन्देश प्रवाह गरेको कार्यक्रममा कोलोराडोका सफल व्यवसायी तथा समाजसेवी दाता दिनेश भट्टराई तथा मञ्जु भट्टराईले उक्त समारोहमा सामुदायिक केन्द्र भवनको लागि आकर्षक गजुर खरिद गरी नेपाली सांस्कृतिक केन्द्र नेपाली घरलाई सहयोगस्वरूप हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लम्सालले दाताहरू दिनेश भट्टराई तथा मञ्जु भट्टराईलगायत कार्यक्रम सफल बनाउन तन, मन, धनबाट सहयोग पुर्‍याउनुहुने सबैलाई धन्यवाद दिएका थिए।

फाल्गुन कृष्ण चतुर्दशीमा मनाइने भगवान् शिवको सबैभन्दा ठूलो र प्रिय पर्व हो। जसलाई शिवको रात वा शिवरात्रि पनि भनिन्छ। यस रात शिवजीको पूजा आराधना, बेलपत्र अर्पण र रातभर जागरण बसी व्रत बसेर भगवान् शिवलाई प्रसन्न तुल्याउने गरिन्छ। नेपालमा पशुपतिनाथलगायत शिव मन्दिरहरूमा विशेष मेला लाग्ने गर्दछ। कोलोराडोमा रहेका विभिन्न हिन्दु सनातन मन्दिरहरूमा पनि श्रद्धालुहरू जम्मा भएर जप तप, भजन कीर्तन गर्दै शिवरात्रि मनाएका छन्।





Comments

comments

135615