धम्पुसको आलडाँडामा नयाँ पर्यटकीय उद्यान

कास्की । कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ धम्पुसमा नवनिर्मित ‘आलडाँडा उद्यान’ (पार्क) सञ्चालनमा आएको छ। माछापुच्छ्रे गाउँपालिका–७ मा अवस्थित यस उद्यानले धम्पुसको पर्यटनमा नयाँ चमक थप्ने र पर्यटकको बसाइ लम्ब्याउने विश्वास गरिएको छ।

करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कबाट उत्तरतर्फका हिमशृङ्खलाका साथै हेमजा र पोखरा बजारको सुन्दर दृश्य स्पष्ट देख्न सकिन्छ। यस उद्यानको मुख्य विशेषता ढुङ्गैढुङ्गाले बनेको धम्पुस र बेलायतको ब्रेकन सहरबीचको भगिनी सम्बन्ध झल्काउने स्मारक हो।

धम्पुस समाज युकेको मुख्य लगानी र सक्रियतामा निर्माण भएको यस परियोजनामा समाजको २६ लाख रुपैयाँ तथा स्थानीय सरकार र व्यक्तिगत सहयोग गरी कुल ४० लाख रुपैयाँ खर्च भएको छ। ब्रेकनसँगको भगिनी सम्बन्ध स्थापना भएको सातौँ वर्ष पुगेको अवसरमा यस पार्कलाई औपचारिक रूपमा खुल्ला गरिएको हो।

धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले धम्पुस आफैँमा पर्यटकीय गन्तव्य भए पनि आगन्तुकलाई थप आकर्षण प्रदान गर्न पार्क निर्माण गरिएको बताएका छन्। त्यस्तै, वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले यसले ग्रामीण पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने उल्लेख गरे।

पोखराबाट करिब २० किलोमिटरको दूरीमा रहेको धम्पुस विश्वप्रख्यात मर्दी हिमाल पदयात्राको प्रवेशद्वार समेत हो, जहाँबाट वार्षिक हजारौँ पर्यटकले यात्रा सुरु गर्ने गर्दछन्।





Comments

comments

135623