भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षासेवी डा राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘आगोका अक्षरहरू’ बुधबार सार्वजनिक गरिएको छ।
अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा आज यहाँ भएको कविता सङ्ग्रहको विमोचन तथा परिचर्चा कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजू, कवयित्री अम्बिका धिताल र सम्पादक जीवनाथ अधिकारीले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरेका हुन्।
कार्यक्रममा साहित्यकार लाकोजूले डा कोजूका कविताहरू विचारप्रधान, चेतनामूलक र समाजसँग प्रत्यक्ष संवाद गर्ने प्रकृतिका रहेको भन्दै सृजनाका लागि साधना र अध्ययन अपरिहार्य रहेको बताए । वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत कविता लेख्ने सन्दर्भ उठाउँदै उनले एआईमार्फत सिर्जना हुने कविताले सर्जकको मौलिकता र व्यक्तित्वलाई चुनौती दिन सक्ने भए पनि सच्चा सृजनाले मानवीय संवेदना, अनुभव र साधनाको महत्त्त्व झनै बढेको बताए।
कवयित्री अम्बिका धितालले कविताले समाजका पीडा, विद्रोह र चेतनालाई अभिव्यक्त गर्ने बताउँदै डा कोजूका कवितामा अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध सशक्त स्वर रहेकाले यस्ता सिर्जनाले समाजमा चेतना र परिवर्तनको आधार निर्माण गर्ने बताए।
कृतिकार डा कोजूले ‘आगोका अक्षरहरू’ मा व्यक्ति, समाज, राजनीति, नैतिक मूल्य, मानवीय संवेदना र चेतनाका विविध पक्षलाई समेटेका १११ वटा कविता तथा १६ वटा चार हरफ मुक्तक शैलीका कविता समावेश गरिएको बताए । उनले आफ्नो नयाँ कृतिबाट केही कविताहरू वाचन गरेका थिए।
सञ्चारकर्मी हरिसुन्दर छुकांले डा कोजूको जीवनी, कवित्व र कृतित्वमाथि चर्चा गर्दै उहाँले साहित्यिक यात्रालाई साधना, अध्ययन र समाजप्रतिको उत्तरदायित्वसँग जोडेर शिक्षण पेसासँगै साहित्य सिर्जनालाई जीवनको अभिन्न अङ्गका रूपमा अगाडि बढाएको बताए।
कवि डिल्लीप्रसाद मूलतिहुन र लेखक डा कोजूले विमोचित सङ्ग्रहका केही कविता वाचन गरेका थिए।
यसअघि डा कोजूका ‘घोडा उसको वा ऊ घोडाको ?’, ‘विशेषणमा बाँचेको देश’, ‘हृदयका प्रतिबिम्ब’ (संयुक्त कविता सङ्ग्रह), ‘चित्र र चरित्र, इमानको धरहरा’ (कविता सङ्ग्रह) तथा ‘निर्भिक आवाजहरू’ (लेख सङ्ग्रह)’ रहेका छन्।


