पिताको किरिया सकेर सेतो वस्त्रमै जनताको आँगनमा

विराटनगर । राजनीतिलाई अक्सर शक्ति, सत्ता र दाउपेचको कथाहरूका रूपमा सुनिन्छ, तर यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा एउटा अर्कै मानवीय संवेदना र कर्तव्यको मर्मस्पर्शी कथा कोरिएको छ।

शरीरमा सेतो सुतीको वस्त्र, खुट्टामा चप्पल र अनुहारमा बुबा गुमाउँदाको गहिरो शोक । तर, यी सबै व्यक्तिगत पीडा एक उम्मेदवार विनोदप्रसाद ढकाल यतिबेला एउटा बलियो राजनीतिक सङ्कल्प बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।

ढकालका लागि यतिबेला राजनीति केवल मत माग्ने माध्यम मात्र होइन, यो त एउटा छोराको कर्तव्य र एउटा जनप्रतिनिधिको उत्तरदायित्वबिचको कठिन परीक्षा बनेको छ । एक सय एक वर्षीय पिता विष्णुप्रसाद ढकालको निधनपछि हिन्दू संस्कारअनुसार १३ दिनसम्म कोरामा बस्नुभएको उहाँ, संस्कार र धार्मिक विधि सकिएको भोलिपल्टै जनताको आँगनमा आइपुगेका हुन् ।

त्यो माघ २९ गतेको दिन थियो, जतिबेला उहाँ सुन्दरहरैचामा घरदैलो अभियानमा व्यस्त हुनुहुन्थ्यो । मतदाताका समस्या सुन्दै र आफ्ना योजना सुनाउँदै गर्दा अचानक उनले एउटा अकल्पनीय खबर सुने, बुबाको देहावसान भयो । एउटा पुत्रका लागि पिताको अन्तिम बिदाइभन्दा ठूलो अरू कुनै जिम्मेवारी हुँदैन । निर्वाचनको मिति नजिकिँदै गर्दा उहाँलाई विश्वास गर्ने हजारौँ मतदाताको अपेक्षा पनि उहाँको काँधमा उत्तिकै भारी भएर बसेको थियो ।

१३ दिनसम्म सेतो कपडामा बेरिएर कोराभित्र बस्दा ढकालको शरीर घरको एउटा कुनामा खुम्चिएको थियो, तर उहाँको मन र भावना भने निर्वाचन क्षेत्रका प्रत्येक टोल र बस्तीमा मतदाताहरूसँगै डुलिरहेको हुन्थ्यो । बाहिर चुनावी नारा घन्किरहँदा उहाँले भित्रै बसेर मतदाताका लागि एउटा भावुक पत्र लेखे । उनले भनेका थिए, “मेरो शरीर घरमै भए पनि मेरो मन तपाईँहरूसँगै छ ।” उम्मेदवार नै उपस्थित हुन नसक्ने त्यो बाध्यकारी अवस्थामा पनि उहाँले कोराबाटै भिडियो तथा विभिन्न पत्रमार्फत मतदातासगको सम्बन्धलाई टुट्न दिनुभएन र क्षेत्रगत विकासका योजनाहरू बुनिरहे ।

बुबा कोरामा रहँदा चुनावी अभियान मर्न नदिन उहाँका छोरीहरू सुरभी र सुवानीले ठूलो साहस देखाए । छोरीहरू बुबाको प्रतिनिधि बनेर गाउँ–गाउँ र घर–घर पुगे । “हाम्रा बुबा हजुरबुबाको अन्तिम संस्कारका कारण कोरामा हुनुहुन्छ, त्यसैले उहाँको खबर र आशीर्वाद लिन हामी तपाईँका छोरीहरू आएका छौँ”, भन्दै उहाँहरूले मतदातासगको भेटघाटलाई निरन्तरता दिए।

मङ्गलबार विराटनगरका विभिन्न स्थानमा पुग्दा ढकालको अनुहारमा थकानभन्दा बढी दृढता देखिन्थ्यो । तेह्र दिनसम्म अलिनो खाएर कमजोर भएको शरीर लिएर उनी एकैदिन १७ भन्दा बढी स्थानका कार्यक्रममा सहभागी भए।

विराटनगर–४ को कोचाखालदेखि इक्राही र दावाबन्दीसम्मका टोलहरूमा उहाँ पुग्दा वातावरण अत्यन्तै शान्त र गम्भीर देखिन्थ्यो । सेतो वस्त्रमा उभिएका उम्मेदवारलाई देख्दा कतिपय ज्येष्ठ नागरिकले उनलाई अङ्कमाल गर्दै आशीर्वाद दिए। उनले भोट मागिरहँदा जनताले केवल एउटा नेतालाई मात्र देखेनन्, बरु आफ्नो संस्कार र कर्तव्यलाई एकसाथ अगाडि बढाउन सक्ने एउटा इमानदार छोरालाई पनि देखेका थिए ।

ढकालले आफू चार दशकदेखि यही भूगोलको धुलोमा भिजेको र यहाँका हरेक समस्यासँग परिचित रहेको बताउँदै गर्दा उनको स्वरमा आत्मविश्वास झल्किन्थ्यो । उनले ४०–४२ वर्षदेखिको आफ्नो राजनीतिक यात्रालाई सम्झिँदै स्थानीय आवश्यकताका आधारमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए।

मोरङ–६ को चुनावी मैदान यसपटक निकै रोचक र चुनौतीपूर्ण छ । यहाँ नेकपा (एमाले) बाट उनी (विनोदप्रसाद ढकाल), नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्य, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार राय, राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलालगायतका उम्मेदवारहरू प्रतिस्पर्धा छन् ।





Comments

comments

135744