होलीमा रमाए विदेशी पर्यटक

कास्की । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा सोमबार स्वदेशी तथा विदेशी पर्यटकले होली मनाएका छन्।

विगतमा यहाँ भव्य रूपमा होली उत्सव मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम गरिएको थिएन, तर लेकसाइड क्षेत्रमा रहेका पर्यटकले स्थानीयसँगै मिलेर रङ्ग खेलेर होली मनाएका हुन्।

रङ खेल्न पाउँदा पर्यटकहरू दङ्ग देखिन्थे । पोखरामा पहिलोपटक आएकी चिनियाँ पर्यटक सियोङले रङ खेलेर रमाइलो गर्दा धेरै खुसी लागेको बताए । “हामी धेरै खुसी भयौँ। नेपालीसहित साथीहरू मिलेर निकै रमाइलो गर्‍यौँ”, उनले भनिन्।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताका कारण होलीका लागि अनुमति नदिएपछि औपचारिक कार्यक्रम नगरिए पनि पर्यटकहरूले स्वतःस्फूर्त रूपमा रमाइलो गरेको रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए।

“यति बेला पोखरामा विदेशी पर्यटक राम्रै छन् । उनीहरूले स्थानीयसँग मिलेर होलीमा रमाइलो गरेका हुन्”, उनले भने।

लेकसाइडको मुख्य सडक क्षेत्रसहित ताल किनारमा बसेर स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न रङमा रङ्गिएर रमाइलो गरेका हुन् । विगतका वर्षमा पोखरामा सार्वजनिक रूपमा होली उत्सव आयोजना हुने गरेको थियो।

यस वर्ष भने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहितालाई मध्यनजर गरेर होलीलगायत अन्य सार्वजनिक कार्यक्रममा जिल्ला प्रशासनले रोक लगाएको छ।





Comments

comments

137319