कोलोराडोमा यसरी मनाईयो होली..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। कोलोराडो निवासी नेपाली भाषीहरूले बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव तथा असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा मनाइने होली एक आपसमा रङ्ग दल्दै हर्षोल्लासका साथ मनाएका छन्।

नेपालीहरूको साझा संस्था नेपाली घरको आयोजना तथा यहाँ स्थित सबै संघसंस्थाहरूको सहभागितामा दिउँसो १ बजे देखि साँझ ५ बजे सम्म नेपाली सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रङ्ग दल्दै उनीहरूले होली मनाएका हुन्।

कार्यक्रमको सुरुमा पण्डित जीवन बराल गुरुले विधिवत् पूजा सम्पन्न गरी होलीको महत्व प्रकाश पार्नुभएको थियो। त्यसपछि उहाँले सबैलाई प्रसाद लगाइदिनुभएपछि एक आपसमा रङ्ग लगाउने कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा कोलोराडोमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, भ्वाइस अफ नेपाल कार्यक्रमका प्रस्तोता सुशील नेपाल, गण्यमान्य व्यक्ति, व्यवसायी, कलाकार, पत्रकार, नेपाल र नेपालीको संस्कृतिलाई मन पराउने स्थानीय तथा नेपाली भाषी बुवा, आमा, दाजुभाइ, दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली सांस्कृतिक केन्द्रको प्राङ्गणमा जम्मा भएका नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू हातमा विभिन्न थरीका रङ्ग लिएर डिजे मणिको साङ्गीतिक प्रस्तुतिमा नाच्दै गाउँदै आ–आफ्ना दौतरिहरूलाई लगाउन व्यस्त देखिन्थे। होली गीतको तालमा नाच्दै होली खेलिरहेको देख्दा विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरू आफ्नो संस्कृति र चाडपर्वको जगेर्ना गर्न कटिबद्ध छन् भन्ने प्रष्ट हुन्थ्यो।

कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लम्सालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै हाम्रो भाषा संस्कृति संरक्षण तथा बालबालिका तथा स्थानीयलाई यसको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए। उनले हाम्रो आस्थाको केन्द्र आफ्नै भवनमा कार्यक्रम आयोजना गर्न पाउँदा गर्वको अनुभव भएको भन्दै कार्यक्रम सफल बनाउन तन, मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

यसैगरी सहभागीहरूलाई कार्यक्रम स्थलमा प्रसादस्वरूप जेरी, पुरी र तरकारी वितरण गरिएको थियो। त्यसैगरी इच्छुक सहभागीलाई नेपाली घरको लोगो अङ्कित सेतो टी–शर्ट नेपाली सांस्कृतिक केन्द्रलाई सहयोगस्वरूप १० डलरमा खरिद गर्न पाउने व्यवस्था गरिएको थियो।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी पारेर सिङ्गारिएको चिरमा आजापूजा गरेपछि विधिवत् रूपमा होली सुरु भएको मानिन्छ। नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ। होली नेपालसँगै भारत, पाकिस्तान, जापान, थाइल्याण्ड, क्यानडा, अष्ट्रेलिया, इङ्गल्यान्ड, अमेरिका लगायतका देशहरूमा भव्यताका साथ मनाइन्छ।

दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा बस्न लगाउँदा आगोले होलिकालाई नै भस्म गरेको, तर भक्त प्रह्लादलाई केही नभएकोले त्यही बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलिकाको मारिएको खुसीयालीमा होली खेल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ।

त्यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंसद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा विष लगाएर कृष्णलाई दूध चुसाउँदा कृष्ण मर्नुको सट्टा पुतना आफैँ मरेकोले त्यस खुसीको उपलक्ष्यमा बृजवासीले फागु मनाउन थालेको जनश्रुति छ।

यी र यस्ता हिन्दु संस्कृति तथा परम्परा अँगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्य माथि सत्यको विजय भएको खुसीयालीमा यो पर्व मनाइने चलन रहेको छ।





Comments

comments

137322