रोशन मेवाहाङ /एचकेनेपाल डट कम –
काठमाडौँ, बाल गीतकार तथा गायक सौगात प्रधानले आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको नयाँ सांगीतिक कोशेली ‘फर्की आईदेउ’ विशेष कार्यक्रमका साथ सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरेका छन्।
ईलामको सुन्दर परिवेशमा जन्मिएका १५ वर्षीय सौगात हाल कक्षा ९ मा अध्ययनरत छन्। सानै उमेरमा संगीतप्रति देखिएको उनको लगाव र सिर्जनात्मक क्षमता यस गीतमार्फत प्रस्ट झल्किएको छ । आफ्नै सिर्जनामा प्रस्तुत भएको यो गीतले उनलाई बाल प्रतिभाका रूपमा स्थापित गर्ने संकेत दिएको छ।
‘फर्की आईदेउ’ गीतमा प्रेम, सम्बन्ध र भावनात्मक नजिकपनको सुन्दर चित्रण गरिएको छ । गीतकार तथा गायक प्रधानले जीवनका विभिन्न मोडमा हुने गल्ती र कमजोरीलाई स्वीकार्दै मायालुसँग सधैं साथ रहिरहने चाहना व्यक्त गरेका छन् । यही इमान्दार भावनाले गीतलाई थप सजीव र हृदयस्पर्शी बनाएको छ।
गीतको संगीत संयोजन जोनि तामाङले गरेका हुन् भने भिडियोमा सौगात स्वयं र कृतिका राईको अभिनय देख्न सकिन्छ । सन्तुलित संगीत र प्रभावशाली अभिनयले गीतको भावलाई अझ मजबुत बनाएको छ।
समग्रमा ‘फर्की आईदेउ’ केवल एउटा गीत मात्र नभई भावनात्मक अनुभूति बोकेको प्रस्तुति बनेको छ। यस गीतले गायक प्रधानलाई नेपाली संगीत क्षेत्रमा आशालाग्दो नयाँ प्रतिभाका रूपमा चिनाएको छ।


