रेस्टुरेन्टमा काम गर्थिन् भारतीय मन्त्री स्मृति इरानी

भनिन्छ, सफलता सहजै पाइँदैन । सफल हुनका लागि मानिसले अनेक दुःखको सामना गर्नुपरेको हुन्छ । विश्वका विभिन्न सफल व्यक्तिको विगतलाई हेर्ने हो भने पनि हामीले यस्ता कथाहरू पक्कै सुनेको हुनुपर्छ । झट्ट सुन्दा हामीलाई अचम्म लाग्न सक्छ, तर सफल हुनुभन्दा पहिले मानिसले के काम गर्थे भन्ने कुरा हामी सोच्न पनि सक्दैनौँ ।

त्यसो त एकजना व्यक्तिको जीवनको परिभाषा र चर्चा सफल भएपछि पूरै परिवर्तन पनि भएको हुन्छ । त्यसैले पनि उनीहरूको विगतबारे हामीलाई थाहा नहुन सक्छ । तर, उनीहरू आफैँचाहिँ विगत बिर्सन चाहँदैनन् । त्यही सम्झनाले पनि हुन सक्छ, उनीहरूलाई धेरै सफलता मिलेको हुन्छ । र, विगतलाई स्मरण गर्ने भएकाले नै पनि हुन सक्छ, उनीहरू सफल भए पनि आफ्नो काममा दृढ भइरहेका हुन्छन् ।

यस्तै एक व्यक्ति हुन्– स्मृति इरानी । भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि नरेन्द्र मोदीको नेतृत्वमा सरकार गठन हुने भयो । त्यो सरकारकी एक मन्त्री हुन्– स्मृति इरानी । उनी अहिले मानव संसाधन मन्त्रालयको जिम्मेवारीमा छिन् । तर, स्मृतिले राजनीतिमा यति ठूलो सफलता यत्तिकै पाएकी होइनन् । नयाँ पत्रिकामा खबर छ।

यो स्थानसम्म आइपुग्न उनले धेरै संघर्ष गरेकी छिन् । आफ्नो करिअरमा उनले कैयौँ सपना देखिन् । तीमध्ये एक थियो, मिस इन्डिया हुने । त्यसका लागि उनले सन् १९९८ मा फेमिना मिस इन्डियामा भाग पनि लिइन् । तर, सफल हुन सकिनन् । असफल भए पनि उनले हिम्मत हारिनन् ।

तर, के भयो भने कमजोर आर्थिक अवस्थाका कारण उनले एउटा रेस्टुरेन्टमा काम गर्नुपर्ने भयो । एउटा फास्ट फुड चेन रेस्टुरेन्टमा उनले काम गर्न थालिन् । तर, उनले लामो समय त्यही रेस्टुरेन्टमा बिताइनन् । किनकि, उनले टिभी सिरियल ‘क्योंकि सास भी कभी बहू थी’मा अवसर पाइन् । त्यो टिभी सिरियलमा उनले तुलसीको भूमिका निर्वाह गरिन् । यो टिभी सिरियल चर्चित बन्यो । त्यसपछि स्मृतिले पनि सफलता पाइन् । यो सफलतासँगै उनले पछाडि फर्किएर हेर्नुपरेन ।





Comments

comments

Leave a Reply

13806