अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन एक भव्य समारोहबीच सुरु भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मुख्य आयोजनामा कोलोराडोको डेनभरमा शनिबारदेखि सम्मेलन सुरु भएको हो।

सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा. नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको मुख्य आयोजना, अनेसास कोलोराडो च्याप्टरको संयोजन तथा एनआरएनए एनसीसी अमेरिका लगायत विभिन्न संघसंस्थाहरूको सहयोगमा सुरु भएको सम्मेलनमा नेपाल, अमेरिका, युरोप लगायतका देशबाट आएका साहित्यकार, लेखक, पत्रकार तथा संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू लगायत दुई सय जना भन्दा बढीको सहभागिता रहेको छ।

कार्यक्रममा विभिन्न मुलुकबाट १२५ जना साहित्यकारहरूको मात्रै सहभागिता छ । कार्यक्रममा प्रमुख अतिथि डा. नवराज लम्सालसहित एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अङ्ग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, राधेश्याम लेकाली, पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, टिकाराम यात्री, प्रधानसम्पादक बसन्त बस्नेत, सम्पादक बबिता बस्नेत, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष बिपुल पोखरेल, चर्चित पूर्वप्रस्तोता नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारी, साहित्य परिषद् भूटानका अध्यक्ष खेम रिजाल, साहित्यकार गंगाराम लामिटारे र शिवलाल दाहाल छन्।

उद्घाटनपछि ‘Celebration Nepali Literature in English’ विषयमा विभिन्न वक्ताहरूको प्रस्तुति रहेको थियो । आजै विश्वभरि छरिएर रहनुभएका विभिन्न लेखकहरूका एक सय भन्दा बढी कृतिहरू विमोचन भएका छन् । त्यसैगरी विभिन्न कवि कवयित्रीहरूले छन्द कविता, गद्य कविता र गजल प्रस्तुत गरेका थिए।

सोमबारसम्म सञ्चालन हुने कार्यक्रममा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ लगायत दर्जन बढी महत्वपूर्ण सेसन तथा छलफलहरूमा विभिन्न साहित्यकार, लेखक र पत्रकारहरूले नेपाली डायस्पोरामा फैलिँदो नेपाली साहित्यका विषयमा विमर्श गर्ने तयारी रहेको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन अनेसास महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले संयुक्त रूपमा गरेका थिए।

सन् १९९१ मा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वभर छरिएर रहेका नेपाली भाषी स्रष्टा र साहित्य प्रेमीहरूको अन्तर्राष्ट्रिय स्तरको साझा संस्था हो।





Comments

comments

138804