स्कटल्याण्डमा नेपाली बाल साहित्य गोष्ठी सम्पन्न

२५ मे, एवर्डिन, स्कटल्याण्ड – एवर्डिन सहरमा नेपाली साहित्य विकास परिषद् यूके, द पोइट्री ग्रुप एवर्डिन, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड र ONCW गरी चारवटा संस्थाको संयोजनमा दोस्रो बाल साहित्य गोष्ठी उत्साहवर्धक रूपमा सम्पन्न भएको छ।

एवर्डिन स्थित स्थानीय कम्युनिटी सेन्टर हलमा आयोजित बाल साहित्य गोष्ठीलाई सम्बोधन गर्दै नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले बेलायतमा रहेका नेपाली बालबालिकाहरूमा नेपाली भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि र आकर्षण बढाउँदै लैजाने उद्देश्यले विभिन्न सहरहरूमा नेपाली संघसंस्थासँग मिलेर परिषद्ले बाल साहित्य गोष्ठीहरू आयोजना गर्दै आएको र पदक तथा पुरस्कारद्वारा प्रोत्साहन दिइएको बताउनुभयो।

परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नै बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृति जस्ता नेपाली पहिचानहरूलाई मेटिन नदिन भावी सन्ततिलाई समेट्दै लैजान परिषद्को स्थापना लन्डनमा गरेको बताउनुभयो।

अध्यक्ष मल्लले यस्ता कार्यक्रमहरूले विदेशमा रहेका बालबालिकाहरूमा आफ्नो भाषा, साहित्य, संस्कृति र नेपाली पहिचानप्रति सकारात्मक सोच र स्नेह जगाएको चर्चा गर्नुभयो। उहाँले यसअघि लन्डन, वोकिङ, र रिडिङमा यस्ता बाल साहित्य गोष्ठी सम्पन्न भइसकेको र आगामी दिनमा पनि निरन्तर गरिने बताउनुभयो।

बाल कविगोष्ठिका सहआयोजक रामराज पहारीले संस्थाका पदाधिकारी, सहभागी बालबालिका तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

द पोइट्री ग्रुप एवर्डिनका संयोजक नवीन के. क्षेत्रीले बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नेपाली भाषा साहित्यको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउँदै केही वर्षअघि पनि परिषद्सँग मिलेर यस्तै गोष्ठी आयोजना गरिएको र त्यसको सकारात्मक परिणाम आजको बाल साहित्य गोष्ठीमा बालबालिकाहरूको उत्साही सहभागिताले पुष्टि गरेको बताउनुभयो। उहाँले साहित्यको क्षेत्रमा ठूला र साना सबैको अभिरुचि बढोस् र सिर्जना हुन सकोस् भन्ने उद्देश्यले द पोइट्री ग्रुप एवर्डिनले हरेक महिना साहित्यिक गतिविधि गर्दै आएको उल्लेख गर्नुभयो।

नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्डका अध्यक्ष रामराज पहारीले स्वागत भाषण गर्दै विदेशमा नेपालप्रतिको माया र नेपाली पहिचान जिवन्त राख्ने दायित्व यिनै बालबालिकाहरूको भएकोले नेपाली भाषा, साहित्य र संस्कृतिका कार्यक्रममा बाल सहभागिता बढाउँदै लैजानुपर्ने बताउनुभयो। उहाँले स्कटल्याण्डमा रहेका नेपाली समुदायबीच आपसी सहयोग र सद्भाव बढाउने कार्यमा एसोसिएसन सक्रिय रहेको बताउनुभयो।

ONCW एवर्डिनका उपसंयोजक प्रकाश राज अर्यालले चार संस्थाको संयोजनमा एवर्डिनमा दोस्रो बाल साहित्य गोष्ठी आयोजना गर्न पाएकोमा गर्व लागेको बताउँदै बालबालिकाहरूमा कविता लेख्ने र गोष्ठीमा भाग लिने उत्साह बढेको चर्चा गर्नुभयो।

राष्ट्रिय गान र दीप प्रज्वलनबाट आरम्भ भएको समारोहमा विभिन्न व्यक्तित्वहरूले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा परिषद्का तर्फबाट कोमल मल्लले खादा, टोपी र मायाको चिनो प्रदान गर्नुभएको थियो।

बाल कवि गोष्ठीमा १६ जना बालकवि तथा कवयित्रीहरूले भाग लिएका थिए। उनीहरूमा प्रनिस तिमल्सिना, सुभश्री रेग्मी, आएन घिमिरे, अरिना लामिछाने, एभिगेल थापा, साईरा पहारी, किर्तिका भट्ट, एन्जेल अर्याल, गिरिसा गौतम, एन्जिला सुवेदी, सर्विन क्षेत्री, सिनिग्धा अर्याल, नमन रिजाल, आभना कार्की र अक्क्षा न्यौपाने रहेका थिए। आरुस मल्लले नृत्य प्रस्तुत गर्नुभएको थियो।

सहभागी बालकवि तथा कवयित्रीहरूलाई परिषद्को तर्फबाट सन् २०२० मा स्थापित एनएलडिसी बाल साहित्य प्रोत्साहन पदक तथा प्रमाणपत्र कोमल मल्ल, नवीन के. क्षेत्री, प्रकाश अर्याल र रामराज पहारीले प्रदान गर्नुभएको थियो।

नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लको सभापतित्वमा सम्पन्न समारोहको अन्त्यमा रमाइलो जलपानसहित सहभागी र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो।





Comments

comments

138807