न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ११ जुन । हङकङको ताइ को सिङस्थित लु सान म्यान्सनमा एउटा अत्यन्तै दुःखद र स्तब्ध पार्ने घटना घटेको छ। बुधबार एकै दिन, एकै भवनबाट पालैपालो खसेर आमा र छोरी दुवैको मृत्यु भएको छ।
बुधबार बिहान करिब ९:२४ बजे, ४८ वर्षीया वाङ थर गरेकी महिला भवनको उच्च भागबाट तल खसेकी थिइन्। उनलाई भवनको दोस्रो तलाको पोडियममा लडिरहेको अवस्थामा उनकी १२ वर्षीया छोरीले फेला पारेकी थिइन् र तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन्। उद्धार टोली घटनास्थलमा पुग्दा महिलाको मृत्यु भइसकेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, घटना हुनुअघि बिहान आमा र छोरीबीच पढाइको विषयलाई लिएर विवाद भएको थियो। विवादपछि आमा कोठाभित्र छिरेकी थिइन्। केही समयपछि लिभिङ रुममा रहेकी छोरीले आमा चिच्याएको आवाज सुनेकी थिइन्। उनी कोठामा जाँदा झ्याल खुला थियो र आमा तल पोडियममा खसेको देखेपछि उनले प्रहरीलाई फोन गरेकी थिइन्। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको थिएन।
यस दुःखद घटनाको केही घण्टापछि साँझ करिब ७:२१ बजे सोही भवनबाट अर्को व्यक्ति खसेको खबर प्रहरीले पायो। घटनास्थलमा पुग्दा तिनै १२ वर्षीया बालिका गम्भीर घाइते अवस्थामा फेला परिन् र चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
बिहान आमाको मृत्युको खबर दिने बालिका र साँझ खसेर ज्यान गुमाउने बालिका एकै व्यक्ति भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले यस घटनालाई गम्भीरताका साथ लिएर थप अनुसन्धान गरिरहेको छ।
मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका लागि उपलब्ध सहयोग सेवाहरू:
यदि तपाईं वा तपाईंको वरपर कोही मानसिक तनाव, डिप्रेसन वा आत्महत्याको सोचबाट गुज्रिरहनुभएको छ भने कृपया लाज र धक नमानी तुरुन्तै तलका हटलाइनहरूमा सम्पर्क गरी मद्दत लिनुहोस्:
- हङकङ समरिटान्स सुसाइड प्रिभेन्सन सोसाइटी: 2389 2222
- लाइफलाइन (Lifeline): 2382 0000
- समाज विभाग (Social Welfare Department): 2343 2255
- द समरिटान्स (The Samaritans – बहुभाषिक हटलाइन): 2896 0000
- अस्पताल प्राधिकरण मानसिक स्वास्थ्य हटलाइन: 2466 7350
- कारिटास इन्फिनिटी होप क्राइसिस सेन्टर: 18288
- टुङ वाह ग्रुप अफ हस्पिटल (Tung Wah Group of Hospitals): 18281
- ‘इमिसन कनेक्ट’ हटलाइन (EmotionConnect): 18111
- जोकी क्लब युवा अनलाइन मानसिक स्वास्थ्य प्लेटफर्म http://www.openup.hk


