१५ वर्षे पाकिस्तानी किशोरले हङकङमा टेस्ला कुदाउँदा बाबुछोरा दुवै पक्राउ!

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ जुन । मदिरा सेवन गरेका बुबाको आग्रहमा टेस्ला गाडी चलाउने १५ वर्षीय पाकिस्तानी किशोर हङकङमा पक्राउ परेका छन्।

वान चाईस्थित हङ हिङ रोड र मार्श रोड नजिकै ट्राफिक प्रहरीले ‘मापसे चेकिङ’ का लागि राखेको रोडब्लकमा एउटा टेस्ला कार अनियन्त्रित रूपमा हल्लिँदै र फरक गतिमा गुडिरहेको फेला परेको थियो।

प्रहरीले संकास्पद रूपमा गुडिरहेको उक्त कारलाई रोकेर हेर्दा चालकको सिटमा १५ वर्षीय पाकिस्तानी मूलका स्कुले विद्यार्थी भेटिएका थिए भने यात्रु सिटमा उनका बुबा सवार थिए।

अनुसन्धानका क्रममा किशोरका बुबाले रेस्टुरेन्टमा मदिरा सेवन गरेका कारण आफैं गाडी चलाउन असुरक्षित महसुस गरेपछि छोरालाई कार चलाएर चाई वानतर्फ लैजान भनेको खुलेको छ। उक्त गाडी बुबाको कम्पनीको नाममा दर्ता रहेको र किशोरले पहिलो पटक कार चलाएका कारण गाडी हल्लिँदै गुडिरहेको थियो, तर भाग्यवश कुनै दुर्घटना हुन पाएन।

प्रहरीले बिना लाइसेन्स, बिना अनुमति र तेस्रो-पक्ष बीमा बिना सवारी साधन चलाएको आरोपमा १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ। त्यसैगरी, सवारी साधनको अनधिकृत प्रयोग गर्न अनुमति दिएको तथा लाइसेन्स नभएको व्यक्तिलाई गाडी चलाउन दिएको आशंकामा बुबालाई पनि हिरासतमा लिएर थप कानुनी अनुसन्धान सुरु गरिएको छ।

स्रोत: द स्ट्यान्डर्ड (The Standard), हङकङ





Comments

comments

139344