नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरुङ चयन भएका छन् । संस्थाले सर्वसम्मत तरिकाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै तमु स्मारिका प्रकाशन गरी १२ औं वार्षिक उत्सव तथा चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गरेको हो।
अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरनको प्रमुख आतिथ्य तथा बोल्डर सहरका मेयर आरोन ब्रोकेट, माइकल डफर्टी जिल्ला सरकारी वकिल (डिस्ट्रिक्ट अटर्नी), जेन काउस सुपेरियर, कोलोराडो नगर परिषद् सदस्य, नारायण श्रेष्ठ अध्यक्ष हेल्पिङ ह्यान्ड्स हेल्थ एन्ड एजुकेसन नेपाल, चन्द्र गुरुङ अध्यक्ष एनआरएनए कोलोराडो च्याप्टर, आरसी पन्त महासचिव एनआरएनए एनसीसी अमेरिका, प्रकाश पौडेल युवा उपाध्यक्ष एनआरएनए एनसीसी अमेरिका, डा. गोपाल तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
मातृभूमि नेपाल तथा कर्मभूमि अमेरिकाको राष्ट्रिय गान बजाएर तथा कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमलाई उद्घाटन सत्र तथा बन्द सत्र गरी दुई चरणमा सम्पन्न गरिएको थियो। संस्थाका अध्यक्ष चक्रबहादुर क्रोम्छें तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन शंकर ङोर्में तमु र बन्द सत्रको सञ्चालन मिनबहादुर क्रोम्छें तमुले गरेका थिए।
कार्यक्रममा परम्परा अनुसार प्रमुख अतिथिलाई ख्रेगी र भाङ्ग्रा अनि फूलले स्वागत तथा अन्य अतिथिहरूलाई ख्रेगी र पुष्पगुच्छा अर्पण गरी हार्दिक स्वागत एवं सम्मान गरिएको थियो।
अतिथि स्वागतपछि द्वितीय उपाध्यक्ष सन्तोष क्रोम्छें तमुले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रममा सहभागी भई यसको गरिमा बढाएकोमा धन्यवाद ज्ञापन गरे । उनले तमु भाषा, संस्कृति, धर्म, परम्परा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ‘तमु स्मारिका भोल्युम १’ भावी पुस्ताका लागि अमूल्य दस्तावेज तथा हाम्रो इतिहास, पहिचान र सामूहिक यात्राको साक्षी (टेस्टिमोनी) बन्ने विश्वास व्यक्त गरे । साथै उनले संस्थाको निरन्तर प्रगति र समुदायको एकताका लागि सबैको सक्रिय सहयोग र सहभागिताको आह्वान गरे।
कार्यक्रममा स्मारिका प्रकाशन संयोजक मिनबहादुर क्रोम्छें तमुले ‘तमु स्मारिका भोल्युम १’ को प्रकाशन प्रक्रिया, उद्देश्य र महत्वबारे प्रकाश पार्दै यसले तमु समुदायको इतिहास, भाषा, संस्कृति र पहिचानलाई भावी पुस्तासम्म पुर्याउने महत्वपूर्ण दस्तावेजका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । साथै स्मारिका प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण लेखक, सहयोगदाता, विज्ञापनदाता तथा स्वयंसेवकप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूद्वारा संयुक्त रूपमा ‘तमु स्मारिका भोल्युम १’ को विमोचन गरिएको थियो । स्मारिका विमोचनपछि कार्यक्रममा उपस्थित अतिथीहरूले शुभकामना मन्तव्य राखेका थिए । यसै क्रममा जिल्ला न्यायाधिवक्ता माइकल डफर्टीले तमु प्ये ल्हु अमेरिकाले समुदायको एकता, संस्कृति संरक्षण र सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गरे । प्रायोजकहरूको तर्फबाट पुष्पा गुरुङले आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । लेखकहरूको तर्फबाट डा. गोपाल तामाङले ‘तमु स्मारिका भोल्युम १’ भावी पुस्ताका लागि महत्वपूर्ण ऐतिहासिक दस्तावेज भएको उल्लेख गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (आइएनएलएस) का अध्यक्ष किरण अधिकारीले स्मारिकाले तमु भाषा, साहित्य, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङ तथा एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण भावी पुस्ताका लागि अत्यन्त आवश्यक रहेकोमा जोड दिए।
यसैगरी सुपेरियर टाउन काउन्सिल सदस्य जेन काउसले समुदायको सांस्कृतिक विविधता र सामाजिक योगदानको प्रशंसा गरिन् भने हेल्पिङ ह्यान्ड्स हेल्थ एन्ड एजुकेसन नेपालका अध्यक्ष नारायण श्रेष्ठले संस्कृति संरक्षण र सामाजिक सेवामा सहकार्यको महत्व औंल्याएका थिए । बोल्डर सिटीका मेयर आरोन ब्रोकेटले काठमाडौँ–बोल्डर भगिनी (सिस्टर सिटी) सम्बन्ध तथा नेपाल भ्रमणका क्रममा अनुभव गरेको नेपाली आतिथ्यको स्मरण गर्दै तमु प्ये ल्हु अमेरिकाको सांस्कृतिक संरक्षण र समुदाय सेवाको प्रशंसा गरेका थिए।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरनले तमु प्ये ल्हु अमेरिकाको १२ औं वार्षिकोत्सव, चौथो अधिवेशन तथा ‘तमु स्मारिका भोल्युम १’ प्रकाशनको सफलताको शुभकामना व्यक्त गर्दै विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले काठमाडौँ–बोल्डर भगिनी (सिस्टर सिटी) सम्बन्धले नेपाल र अमेरिकाबीचको मित्रता तथा सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले भावी पुस्तामा आफ्नो पहिचान र संस्कृतिप्रति गौरवको भावना विकास गर्ने बताए।
यसैगरी कार्यक्रममा सङ्गीता लामिछाने महिला सचिव एनआरएनए एनसीसी अमेरिका, र्यान्सम श्रेष्ठ एनआरएनए मिडिया साझेदार, नमुना गैरे उपाध्यक्ष एनआरएनए कोलोराडो च्याप्टर, बसन्त लम्साल निवर्तमान अध्यक्ष नेपाली घर, किरण अधिकारी अध्यक्ष आइएनएलएस (आइएनएलएस), उपेन्द्र राना मगर अध्यक्ष मगर समाज अमेरिका कोलोराडो च्याप्टर, सन्तोष गुरुङ अध्यक्ष तमु धीं कोलोराडो, नवराज श्रेष्ठ अध्यक्ष जीएनएफए (जीएनएफए), हरि गुरुङ अध्यक्ष रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, बिनोद गुरुङ अध्यक्ष सीएनवाईसी (सीएनवाईसी), शङ्कर गुरुङ कोसेली कोलोराडो, भरत अरण, पुष्पा गुरुङ, कान्ति दाहाल, सबिन गौली, सुमन के.सी. लगायतका अतिथीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्पूर्ण प्रायोजकहरूलाई प्रशंसापत्र तथा स्मारिकाका लागि लेख उपलब्ध गराउने लेखकहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसपछि ख्यडु नृत्य प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्षले प्रमुख अतिथि महामहिम शरदराज आरनलाई मायाको चिनो प्रदान गरेका थिए।
उद्घाटन सत्रपछि निर्वाचन समिति अध्यक्ष टोउ बहादुर क्रोम्छें तमुको अध्यक्षतामा बन्द सत्र सुरु भएको थियो । संस्थाका अध्यक्षले आफ्नो कार्यकालप्रति सहयोग पुर्याउने सम्पूर्ण कार्यसमिति, सल्लाहकार, सदस्य तथा सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्दै पुरानो कार्यसमिति विघटन भएको घोषणा गरेका थिए । भने द्वितीय उपाध्यक्ष सन्तोष क्रोम्छें तमुले सन् २०२३–२०२६ कार्यकालका प्रमुख उपलब्धि तथा संस्थागत प्रगतिबारे संक्षिप्त प्रस्तुति दिएका थिए।
त्यसपछि निर्वाचन समितिका सदस्य मिनबहादुर क्रोम्छें तमुले निर्वाचन प्रक्रिया सञ्चालन गरी सन्तोष क्रोम्छें तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको नाम घोषणा गरेका थिए जसमा अध्यक्ष सन्तोष क्रोम्छें तमु, तत्कालीन निवर्तमान अध्यक्ष चक्र क्रोम्छें तमु, उपाध्यक्ष सपना लेम तमु, महासचिव शंकर ङ्रोमेइन तमु, संयुक्त सचिव जो बी. पाहच्यु तमु, कोषाध्यक्ष विनोद तु क्लेहप्री तमु, जनसम्पर्क तथा समुदाय सहभागिता संयोजक चन्द्र ल्हेगे तमु, युवा तथा खेलकुद संयोजक कैलाश क्रोम्छें तमु, धार्मिक मामिला संयोजक (खेगी विभाग) टोउ बी. क्रोम्छें तमु, सांस्कृतिक मामिला संयोजक अनिशा तमु, बोर्ड अध्यक्ष सुश्री दीपा तमुको नाम घोषणा गरेका थिए । भेलाले सबै पदाधिकारीको नाम सर्वसम्मत तरिकाबाट समर्थन गरेको थियो । निर्वाचन समिति अध्यक्ष टोउ बहादुरले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सन्तोष क्रोम्छें तमुले आफ्नो मन्तव्यका क्रममा सर्ट-टर्म गोल्स तथा लङ-टर्म गोल्स प्रोजेक्टर स्लाइडमार्फत प्रस्तुत गर्दै संस्थाको भावी कार्ययोजना सार्वजनिक गरेका थिए।
अन्त्यमा निर्वाचन समिति अध्यक्ष टोउ बहादुर क्रोम्छें तमुले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै बन्द सत्र तथा औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए । कार्यक्रम समापनपछि सहभागीहरूबीच फ्लोर डान्स आयोजना गरी आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा उल्लासपूर्ण वातावरणमा दिनभरिको कार्यक्रम समापन गरिएको थियो।


