फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितद्वारा ६३ हजार प्रदान

पोखरा, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन्।

पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन्। उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

पोखरामा रही फोटोको माध्यमबाट पोखराको खेलकुद गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरूको हकहितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए। साथै उनले देशको विषम परिस्थितिमा समेत उपस्थित भई फोटोको माध्यमबाट इतिहासलाई जीवन्त राख्न फोटो पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरूको हितका लागि स्थापना गरिएको अक्षयकोषमा पोखराका प्रतिष्ठित घरानाहरूले समेत साथ र सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो।

सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार रञ्जितप्रति आभार व्यक्त गर्दै पोखराको खेलकुद इतिहासमा फोटो पत्रकार रञ्जितको विशेष योगदान रहेको बताए। सो अवसरमा बोल्दै नागरिक अभियन्ता रामबहादुर पौडेलले पोखराको इतिहासमा फोटो पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

६२/६३ को जनआन्दोलन, २०७२ को भूकम्प र २०८३ को आन्दोलन तथा विभिन्न ऐतिहासिक गतिविधिहरूमा कास्कीका फोटो पत्रकारहरूले पोखराको इतिहास जीवन्त राख्ने काम गरेको बताउँदै आफ्नो तर्फबाट फोटो पत्रकारलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
पोखराको बीच भागबाट बग्ने फिर्के खोलाको संरक्षणमा महानगरका केही वडाहरूले भने जस्तो काम नगरेकोले नागरिक समाजको खबरदारीमा साथ र सहयोग गर्न समेत फोटो पत्रकारहरूलाई पौडेलले आग्रह गरे।

यसैबीच फोटो पत्रकार संघ कास्कीले संस्थामा आवद्ध फोटो पत्रकारहरू सुदर्शन रञ्जित एनओसी वेस्ट भिडियोग्राफी अवार्ड, संघका सल्लाहकार कृष्णमणि बराल दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित, सल्लाहकार इन्द्र पौडेल संस्कृति संरक्षण पत्रकारिता पुरस्कार, सहसचिव दुर्गा रानामगर पोखरा महानगरपालिका सदस्य युवा परिषद्ले गर्ने युवा पत्रकारिता सम्मान र कार्यसमिति सदस्य सुरेश सुनार विश्वकर्मा समाजबाट सम्मानित भएकोमा तथा संस्थाका उपाध्यक्ष राधिका कँडेल सञ्चारिका समूह गण्डकीको अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो।





Comments

comments

139585