कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सन्दर्भ तस्बिर

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भनिन्, “कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन्। जलमापन केन्द्र ३१ सञ्चालनमा छन् । दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन।”

त्यस्तै, दैलेख र सुर्खेतको सिमानास्थित गुँरासेमा मौसम राडान केन्द्र लामो समयदेखि बन्द रहेका कँडेलले जानकारी दिइन् । उनका अनुसार चट्याङले क्षति पु¥याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन्।

कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी जानकारी दिने उद्देश्यले यी राडार स्थापना गरिएको थियो । हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको डा कँडेलले जानकारी दिइन्।

मौसम मापन केन्द्रको अभावले स्थानीयस्तरको मौसमीय अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको उनको भनाइ छ।

कर्णाली प्रदेश सरकारले मौसम पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए। रासस





Comments

comments

139606