न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ जुलाई । हङकङका विभिन्न स्थानमा मंगलबार आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ।
स्थिति नियन्त्रणमा लिन र नागरिकहरूलाई सहायता प्रदान गर्न ढल निकास सेवा विभागका ६० भन्दा बढी आपत्कालीन टोलीहरू परिचालन गरिएका छन्।
हङकङ अब्जर्भेटरीले बिहान ५:३० बजे ‘एम्बर रेनस्टर्म वार्निङ’ को चेतावनी जारी गरेको दुई घण्टापछि, उत्तरी न्यू टेरिटोरिजमा बाढीको विशेष सूचना जारी गरेसँगै बिहान ७:३० बजे विभागको आपत्कालीन नियन्त्रण केन्द्र सञ्चालनमा आएको थियो।
बिहान ११ बजेसम्म सहरका ११ स्थानमा बाढी आएको पुष्टि भएको थियो, जसमध्ये ६ वटा क्षेत्रको समस्या समाधान भइसकेको छ।
बाँकी रहेका शेउङ शुई, फ्यानलिङ र पिङ चे लगायतका स्थानमा जमेको पानी हटाउन शक्तिशाली ढल सफा गर्ने रोबोटहरू प्रयोग गरिएको छ।
मंगलबार बिहान ५:३० देखि ११:५५ सम्म, ६ घण्टाभन्दा बढी समय एम्बर रेनस्टर्म अलर्टको चेतावनी जारी गरिएको थियो। यो चेतावनी यस महिनाकै सबैभन्दा लामो समयसम्म कायम रहेको रेकर्ड हो।


