अपडेटः हङकङमा मध्यरातपछि थप शक्तिशाली ‘सिग्नल नम्बर ९’ जारी, सर्वसाधारणलाई घरबाहिर ननिस्कन कडा निर्देशन

अपडेटः हङकङमा मध्यरातपछि थप शक्तिशाली ‘सिग्नल नम्बर ९’ जारी, सर्वसाधारणलाई घरबाहिर ननिस्कन कडा निर्देशन

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ जुलाई । हङकङमा शक्तिशाली समुद्री आँधी ‘टाइफुन नउल’ को प्रभाव निकै डरलाग्दो बन्दै गएपछि हङकङ अब्जर्भेटरीले आज आइतबार बिहान ठीक १:१० बजे थप शक्तिशाली ‘सिग्नल नम्बर ९’ (T9 Signal) जारी गरेको छ।

अब्जर्भेटरीका अनुसार आँधी हङकङको निकै नजिक आइपुगेकाले हावाको गति अत्यन्तै तीव्र रूपमा बढ्न थालेको छ।

मौसम अत्यधिक प्रतिकूल बनेपछि अब्जर्भेटरी र सरकारले सर्वसाधारणका लागि कडा चेतावनी जारी गरेका छन्। अब कोही पनि व्यक्ति कुनै पनि बहानामा घरबाहिर ननिस्कन, झ्याल र ढोकाहरू भन्दा टाढा रहन तथा घरभित्रै पूर्ण रूपमा सुरक्षित स्थानमा आश्रय लिएर बस्न अपिल गरिएको छ।

अपडेटः हङकङमा ‘सिग्नल नम्बर ८’ जारी, मध्यरातपछि ‘सिग्नल नम्बर ९’ आउन सक्ने भएपछि जनजीवन ठप्प; ४१० भन्दा बढी हवाई उडान रद्द!

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ जुलाई । शक्तिशाली समुद्री आँधी ‘टाइफुन नउल’ हङकङको निकै नजिक आइपुगेकाले हङकङ अब्जर्भेटरीले आज राति १०:१० बजे आँधीको ठूलो चेतावनी ‘सिग्नल नम्बर ८’ (T8) जारी गरेको छ।

यो टाइफुन भोलि आइतबार बिहान हङकङको १०० किलोमिटर उत्तर-पूर्वमा पर्ने ह्विझाउ र सानवेको बीचमा ठोक्किने अनुमान गरिएको छ।

हावाको गति लगातार बढिरहेकाले अब्जर्भेटरीले मध्यरात अर्थात् राति १ देखि २ बजेको बीचमा थप शक्तिशाली ‘सिग्नल नम्बर ९‘ (T9) समेत जारी हुन सक्ने चेतावनी दिएको छ।

टाइफुनका कारण हङकङको हवाई तथा भूमिगत यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ। विमानस्थल प्राधिकरणका अनुसार जोखिमलाई ध्यानमा राख्दै हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ४१० भन्दा बढी हवाई उडानहरू रद्द भइसकेका छन्। जसमा क्याथे प्यासिफिकले भोलि आइतबार सवेरैदेखि साँझ ६ बजेसम्मका आफ्ना सबै आगमन र प्रस्थान उडानहरू रद्द गरेको छ।

हवाई उडान मात्र नभई मुख्यभूमि चीन जोड्ने १५० भन्दा बढी हाई-स्पीड रेल सेवाहरू पनि स्थगित गरिएका छन्। यसैगरी हङकङभित्र चल्ने अधिकांश सार्वजनिक बस, फेरी र समुद्री सेवाहरू पूर्ण रूपमा बन्द भइसकेका छन् भने एमटीआर रेल सेवा भूमिगत स्टेशनहरूमा मात्र सीमित रूपमा चलिरहेको छ।

मौसम निकै प्रतिकूल बन्दै गएपछि मुख्य कार्यकारी जन लीले सबै सरकारी विभागहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको ज्यानमालको रक्षा गर्न निर्देशन दिएका छन्।

आपत्कालीन अवस्थालाई हेरेर गृह मन्त्रालयले हङकङभर २८ वटा अस्थायी आश्रयस्थलहरू सर्वसाधारणका लागि खुला गरिसकेको छ। टाइफुनको खतराका कारण आइतबार हुने भनिएका सम्पूर्ण सार्वजनिक कार्यक्रम र विद्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्।

अब्जर्भेटरीले सर्वसाधारणहरूलाई घरबाहिर ननिस्कन, समुद्र तट वा किनारबाट टाढा बस्न र ताजा मौसम अपडेटहरू निरन्तर सुनिरहन अपिल गरेको छ।

अपडेटः हङकङमा ‘सिग्नल नम्बर ३’ को आँधीको चेतावनी जारी, सतर्क रहन अपिल

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ जुलाई । हङकङ अब्जर्भेटरीले आज दिउँसो १:२० बजे शक्तिशाली हावाहुरीसहितको ‘ट्रपिकल साइक्लोन सिग्नल नम्बर ३’ जारी गरेको छ।
अब्जर्भेटरीका अनुसार अबको केही समयमा हङकङमा औसत ४१ देखि ६२ किलोमिटर प्रतिघन्टाको तीव्र गतिमा हावा चल्ने सम्भावना छ।

सुरक्षा सतर्कता:

  • बाल्कोनी र घरबाहिर रहेका उड्न सक्ने सामानहरू तुरुन्तै भित्र राख्न वा सुरक्षित रूपमा बाँध्न आग्रह गरिएको छ।
  • समुद्री लहरहरू ठूला र खतरनाक हुन सक्ने भएकाले पानीको किनार र समुद्र तटबाट टाढा रहन भनिएको छ।
  • हाल सार्वजनिक यातायात सुचारु रहे पनि मौसम बिग्रेमा थप सतर्कता अपनाउन र अब्जर्भेटरीको नयाँ अपडेटहरू हेर्दै गर्न अपिल गरिएको छ।

हङकङमा समुद्री आँधी ‘टाइफुन नउल’ को सन्त्रास: शनिबार रातिदेखि आइतबार बिहानसम्म उच्च जोखिम!
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ जुलाई । हङकङको मौसम पूर्वानुमान विभागले शक्तिशाली समुद्री आँधी ‘टाइफुन नउल’ शनिबार रातिदेखि आइतबार बिहानको बीचमा हङकङको सबैभन्दा नजिक आइपुग्ने सम्भावना रहेको जनाएको छ।

आँधीको जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले शुक्रबार साँझ ८:४० बजे नम्बर १ चेतावनी सङ्केत जारी गरेको छ।

नउल हाल मनिलाबाट करिब ५०० किलोमिटर उत्तर-पूर्वमा अवस्थित भएर २६ किमी प्रतिघण्टाको गतिमा उत्तर-पश्चिमसतर्फ बढिरहेको छ। शनिबार साँझबाट तीव्र गतिको हावाहुरी चल्ने र भारी वर्षा हुने अनुमान गरिएको छ भने आइतबार मेघगर्जनसहित ठूलो पानी पर्नेछ।

समुद्रमा ठूला छालहरू आउने खतरा रहेकाले नागरिकहरूलाई तटीय क्षेत्रबाट टाढै रहन र पानीजन्य खेलकुदहरू पूर्ण रूपमा बन्द गर्न चेतावनी दिइएको छ।

मौसमको उतारचढाव हेरेर विभागले शनिबार थप उच्च सतर्कताका संकेतहरू जारी गर्न सक्ने बताएको छ।





Comments

comments

139934