मोदीखोलाको बाढीमा मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिकामा मोदीखोलामा आएको बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।

अन्नपूर्ण गाउँपालिका–६ स्थित नयाँपुल–बिरेठाँटी जाने सडकखण्डअन्तर्गत मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढी आएपछि तीन जना फसेका थिए।

उद्धार गरिएका तीन जनामा पोखरा महानगरपालिका–१८ सराङकोट निवासी २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–६ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत करिब ३० वर्षीय रेवन्त प्रसाद सिंह र भारतीय नागरिक भई विगत ५ वर्षदेखि मन्दिरमा पुजारीका रूपमा कार्यरत करिब ५२ वर्षीय निर्मल गिरी रहेका छन्।

घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो। गणका अनुसार सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमान्डमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोरसहितको टोली आवश्यक विपद् उद्धार सामग्री लिएर घटनास्थल पुगेको थियो।

त्यस्तै, नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १६ जनाको टोलीसमेत उद्धारका लागि परिचालन भएको थियो।

उद्धारका क्रममा रोप रेस्क्युको माध्यमबाट तीनै जनालाई सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी निरीक्षक इन्द्रबहादुर गुरुङसहित प्रहरी जवान जनक बुढाले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ।

यसैबीच, अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–धान्दुक सडकखण्डका विभिन्न स्थानमा बाढीले करिब ३००/४०० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको छ। बाढीका कारण नयाँपुलस्थित विद्युत् पोलसमेत बगाएकाले विद्युत् सेवा पनि अवरुद्ध भएको जनाइएको छ।

उद्धार तथा अनुगमनका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू घटनास्थल पुगेका थिए।





Comments

comments

140284