नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान् शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव कार्यक्रम विधिपूर्वक सम्पन्न भएको छ।
शनिबार पूर्वाङ्गका कार्यक्रम गरी सुरु गरिएको प्राणप्रतिष्ठा कार्यक्रम सोमबार रुद्राभिषेक, हवन तथा आरतीपश्चात् सम्पन्न भएको हो। कार्यक्रमका मुख्यदाता कृष्ण काफ्ले कर्ता भई सम्पन्न गरिएको प्राणप्रतिष्ठा गुरु जीवन बराल, आचार्य पं. गोपीकृष्ण तथा पण्डित गोविन्द कट्टेलले संयुक्त रूपमा विधिपूर्वक सम्पन्न गराएका हुन्। प्राणप्रतिष्ठापश्चात् शिव परिवारको नामकरणसमेत गरिएको छ। जसमा अबदेखि ‘चिदानन्द शिव परिवार शिवालय’ भनिने जानकारी गराइएको छ।
प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान भजन–कीर्तनसहित विशेष धार्मिक वातावरणमा मूर्तिहरूको प्राणप्रतिष्ठा सम्पन्न भएको नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले बताएका छन्। विशेष गरी नेपालीभाषी भुटानी समुदायको कोलोराडो बाल भजन मण्डलीका बाल कलाकारहरूको प्रस्तुतिले सबैको मन जितेको थियो।
शिवालयमा नेपालको पवित्र कालीगण्डकी नदीको करिब १० फिट अग्लो र ८ फिट चौडा शिलालाई दुई जना कालिगढले तीन महिना लगाएर हातले कुँदेर निर्माण गरिएको शिव परिवारको ३०० किलोभन्दा बढी तौल भएको सुन्दर मूर्ति रहेको छ। नेपाली सांस्कृतिक केन्द्रलाई सौजन्यस्वरूप उपलब्ध शिव परिवार, शिवलिङ्ग तथा बसाहको मूर्ति लक्ष्मी फुडका प्रोप्राइटर कृष्ण काफ्लेले उपलब्ध गराएका हुन्।
काफ्लेले प्राणप्रतिष्ठा समारोहमा सहभागी भक्तजनका लागि आवश्यक प्रसाद तयार गर्न चाहिने सम्पूर्ण सामग्रीसमेत लक्ष्मी फुडले निःशुल्क उपलब्ध गराएको बताए। उनले प्रवासमा नेपालीभाषी समुदायको धार्मिक तथा सांस्कृतिक एकताको केन्द्रका रूपमा रहेको नेपाली सांस्कृतिक केन्द्रमा शिवालय स्थापना हुनु समुदायका लागि महत्वपूर्ण धार्मिक उपलब्धि भएको बताए। यस्तो पुण्य कार्यमा सहभागी हुन पाउनु सबैका लागि गर्वको कुरा भएको भन्दै नेपाली घरका उपाध्यक्ष काफ्लेले सबैलाई सहभागी भई सक्दो सहयोग गर्नसमेत अनुरोध गरेका छन्।
नेपाली घरले हाम्रो सनातन हिन्दू परम्परामा प्राणप्रतिष्ठा केवल मूर्तिमा प्राण स्थापना गर्ने विधि मात्र नभई श्रद्धा, संकल्प र भक्तिको माध्यमबाट ईश्वरसँग अझ गहिरो रूपमा जोड्ने पावन धार्मिक संस्कार भएको जनाएको छ। आगामी दिनमा यस चिदानन्द शिव परिवारको नित्य पूजा सञ्चालनका लागि सबैको साथ र सहयोगको समेत अनुरोध गरिएको छ।
आइतबार सम्पन्न प्राणप्रतिष्ठा कार्यक्रममा कोलोराडोमा रहेका नेपालीभाषी समुदायको बाक्लो उपस्थिति रहेको थियो।


