काठमाडौँ। नेपाली सेनाको जस्तै हुबहु पोसाक, दर्जा र दर्ज्यानी चिह्न प्रयोग गरेर समानान्तर सैन्य अभ्यासको झल्को दिएपछि तीव्र विवादमा तानिएको ‘ग्रीन आर्मी नेपाल’ नामक गैरनाफामूलक संस्थाको दर्ता खारेज भएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको जस्तै हरियो ‘प्यारामिलिटरी’ पोसाकमा उद्धार तथा राहत कार्यमा खटिएपछि यो संस्था सामाजिक सञ्जालदेखि संसदसम्म तीव्र आलोचनाको घेरामा परेको थियो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर राज्यका सुरक्षा निकायबाहेक अन्य कसैले पनि प्रयोग गर्न नपाउने ‘आर्मी’ शब्द र सैनिक संरचनाको अभ्यास गरेपछि सरकारले यसको दर्ता खारेज गर्ने कडा कदम चालेको हो।
दर्ता खारेजीसँगै संस्थाका देशभरका गतिविधिमा प्रतिबन्ध लागेको छ। वि.सं. २०७७ मा दर्ता हुँदा कानुनी छिद्र प्रयोग गरी अनुमति लिइएको खुले पनि राष्ट्रिय सुरक्षाका दृष्टिले यस्तो अभ्यास गम्भीर र गैरकानुनी रहेको जानकारहरूको ठहर छ।
विद्यार्थीलाई विभिन्न तालिम दिने उद्देश्य भनिएको यस संस्थाका प्रमुख सल्लाहकार पूर्वआईजीपी सर्वेन्द्र खनाल थिए भने बिनासमन्वय कमान्ड शैलीमा फिल्डमा देखिएपछि गृह मन्त्रालयले कागजात माग गरेको थियो। सरकारले समानान्तर सैन्य गतिविधि र पोसाकको दुरुपयोग सह्य नहुने स्पष्ट पारेको छ।


