खड्कालाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ । स्कुल परिसरमै रहेको होस्टेलमा गत १७ भदौको बेलुका खड्काले बलात्कार गरेको प्रहरीले जनाएको छ । बर्दिया घर भई सोही स्कुलमा गणित विषय पढाउने खड्का होस्टेल वार्डेनका रूपमा समेत कार्यरत थिए । होस्टेलमा थोरै मात्र छात्रा भएको मौका पारी उनले बलात्कार गरेका हुन् ।
परिवारको उजुरीपछि खुल्यो रहस्य
१८ गते घर गएकी छात्रा १९ गते स्कुल फर्केकोमा सो दिन होस्टेलमा नबसी साथीको घरमा गएकी थिइन् । स्कुलबाट छोरी हराएको भन्दै उनकी आमाले १९ भदौमा बालाजु वृत्तमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पछि साथीको घरमा गएको पत्ता लाग्यो । होस्टेलमा बस्न नमान्नुको कारणबारे अनुसन्धान हुँदा शिक्षकले बलात्कार गरेको खुलेको खबर नयाँपत्रिका दैनिकमा छ।
सुरुमा किशोरीले आफूलाई दुव्र्यवहार भएको बताएकी थिइन् । थप सोधपुछ गर्दा बलात्कार नै गरेको खुलेपछि पक्राउ परेका खड्कालाई जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको हो । तर, उनले पनि आफूले बलात्कार नगरेको दाबी गर्दै आएका छन् । सोही कोठामा सुतेको अन्य बच्चाहरूले पनि शिक्षक खड्काले ती छात्रामाथि बलात्कार गरेको बताएका छन् ।
विद्यालयकै आग्रहमा परिवारले ती छात्रालाई गत ९ गतेदेखि होस्टेलमा राख्दै आएका थिए । शिक्षक खड्काविरुद्ध अन्य विद्यार्थीले पनि स्कुल प्रशासनमा उजुरी गर्दै आएको बालाजु वृत्तका इन्सपेक्टर ऋषि घर्तीमगरले बताए । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरी सूक्ष्म अनुसन्धान अघि बढाएको छ । विद्यालय प्रशासनले छात्राको मेडिकल रिपोर्ट आएपछि आफूहरूले शिक्षकमाथि कारबाही अघि बढाउने बताएका छन् ।
प्रहरीका अनुसार योजनाबद्ध रूपमा नै उनले बलात्कार गरेको देखिन्छ । १७ गते स्कुलमा तिजको कार्यक्रम थियो । भोलिपल्ट बिदा भएकाले होस्टेलमा बस्ने धेरै विद्यार्थी घर गएका थिए । त्यसकारण होस्टेलमा थोरै मात्र विद्यार्थी भएको मौका पारी उनले बलात्कार गरेका हुन् ।
शिक्षक खड्काले केही छात्रहरूलाई समेत तिनै छात्रा बस्ने कोठामा ल्याएका थिए । थोरैजना मात्र भएकाले डराउने भन्दै उनीहरूलाई छात्राको होस्टेलमा ल्याएका थिए । छात्रहरूलाई पनि एउटै कोठामा ल्याएर सुत्दा शंका नहुने भएकाले उनले यस्तो गरेका थिए । प्रहरीका अनुसार खड्काले सबैलाई आइप्याडमा फिल्म देखाएका थिए । बेलुका करिब १० बजे सबै सँगै सुतेका थिए । शिक्षक खड्का तिनै छात्रासँगै सुती सुरुमा अश्लील फिल्म देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।