कोलोराडोमा दशैं–तिहार शुभकामना साँझमा कुलेन्द्र विश्वकर्माको दमदार प्रस्तुति

–

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैं तथा तिहारको अवसरमा कोलोराडोस्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN) ले आयोजना गरेको दशैं–तिहार विशेष शुभकामना साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

–

नेपाली संस्कृति, परम्परा र आपसी एकतालाई निरन्तरता दिने उद्देश्यले RMFN ले आयोजना गरेको दशैं–तिहार विशेष कार्यक्रम आइतबार साँझ भव्य रूपमा सम्पन्न भएको हो।

कोलोराडोस्थित सबै संघ-संस्थाको सहभागितामा वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’मा आयोजित दशैं–तिहार विशेष शुभकामना साँझमा सांगीतिक, सांस्कृतिक, सम्मान, शुभकामना आदान-प्रदानसँगै चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति जस्ता कार्यक्रमहरू रहेका थिए।

–

RMFN का सल्लाहकार एवं INLS का BOT अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्य तथा हेल्पिङ ह्यान्ड्सका अध्यक्ष नारायण श्रेष्ठ, वेस्टमिन्स्टरका मेयर Claire Carmella, समाजसेवी डा. विजयराज शर्मा, RMFN का पूर्वअध्यक्ष विनोद त्रिपाठीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रम प्रमुख अतिथि, अतिथि र कार्यक्रमका सभापतिले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै अगाडि बढेको थियो।

–

कार्यक्रममा विश्वका ८० भन्दा बढी देशमा साइकलबाट यात्रा गरी नेपालको नाम विश्वमा फैलाउने साइकल यात्री अजित बराल, चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, संस्थाका पूर्वअध्यक्ष अर्जुन बगाले, पत्रकार नातिबाबु भट्ट, चन्दादाता तथा स्थानीय कलाकारहरूलाई खादा ओढाई सम्मान-पत्र प्रदान गरेर सम्मान गरिएको थियो।

–

संस्थाका महासचिव तेजप्रसाद ढकालबाट सञ्चालित कार्यक्रमको पहिलो चरणमा संस्थाका अध्यक्ष हरि गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पदम विश्वकर्मा र विशेष अतिथि वेस्टमिन्स्टरका मेयर Claire Carmella ले शुभकामना मन्तव्य दिएका थिए।

–

संस्थाका पदाधिकारीहरूले दर्शकमाझ परम्परागत लोक संस्कृति देउसी प्रस्तुत गरेका थिए। त्यसैगरी ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका बाल कलाकारहरूले दशैं गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै सोही कार्यक्रममा साना कलाकारहरूले परम्परागत पहिरनमा सजिएर सुन्दर नृत्य प्रस्तुत गरेका थिए। यसैगरी गायिका सम्झना पाण्डेको प्रस्तुति पनि सुन्दर रहेको थियो। कार्यक्रममा नेपालको पश्चिमी कला संस्कृति रुकुमको सिंगारु (टप्पा) नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रमको दोस्रो सत्र संस्थाकी कल्चरल सेक्रेटरी रेखा धौरालीले सञ्चालन गरेकी थिइन्।

–

कार्यक्रमको अन्त्यमा मातृभूमि नेपालको पर्वतमा जन्मिएका लोकप्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुति रहेको थियो। ‘सालको पातको टपरी हुनी’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाऊ है सानु पँधेरीमा’, ‘जोगीको भेषैमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’ जस्ता लोकप्रिय गीतमार्फत दर्शक–श्रोतामाझ परिचित विश्वकर्माले २,५०० भन्दा बढी गीतमा स्वर दिइसकेका छन्। कार्यक्रममा उनको जोडदार प्रस्तुतिले सहभागी सबैलाई नचाएको थियो। उनले ‘सालको पातको टपरी हुने’ लगायतका झन्डै एक दर्जनभन्दा बढी आफ्ना चर्चित गीत गाएर श्रोता-दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्दै नचाएका हुन्।

–

नेपालीभाषीहरू दशैं–तिहारलाई नेपाली समुदायबीच भेटघाट, शुभकामना आदान-प्रदान, आपसी सद्भाव र एकता सुदृढ गर्ने अवसरका रूपमा लिई कार्यक्रममा सहभागी भएका थिए। कोलोराडोमा रहेका संघ-संस्थाका पदाधिकारी, गन्यमान्य तथा नेपालीभाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू परिवारसहित कार्यक्रममा सहभागी भएर पर्वको खुसी साटेका थिए।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN) कोलोराडोमा रहेका नेपालीभाषी समुदायको पुरानो तथा अग्रणी सामाजिक संस्था हो। संस्थाले स्थापनाकालदेखि नै नेपाली संस्कृति, भाषा, परम्परा तथा सामाजिक सम्बन्धलाई प्रवर्द्धन गर्ने विभिन्न गतिविधि गर्दै आएको छ। यस्ता कार्यक्रमले कोलोराडोमा रहेका नेपालीहरूलाई एउटै थलोमा भेला भएर आफ्नो संस्कृति र परम्परासँग जोडिन तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउन सहयोग पुर्‍याउँदै आएको आयोजकको दाबी छ।





Comments

comments

141977