अभिषेकले अस्ट्रेलियन ओपन २०२७ को छनोट खेल्ने

–

काठमाडौं, नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन्।

चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा अभिषेकले नेपालको प्रतिनिधित्व गर्नेछन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिषेकले अस्ट्रेलियन ओपन खेल्ने आफ्नो लामो समयदेखिको सपना पूरा हुन लागेको बताए।

‘अस्ट्रेलियन ओपन खेल्ने सपना थियो। यो अवसर पाउँदा निकै खुसी छु। प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु,’ उनले भने। एसिया/प्यासिफिक क्षेत्रका खेलाडीलाई अस्ट्रेलियन ओपनको मुख्य प्रतियोगितासम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले प्लेअफ आयोजना गर्न लागिएको हो।

विश्वकै प्रतिष्ठित टेनिस प्रतियोगितामध्ये एक अस्ट्रेलियन ओपन एसिया/प्यासिफिक क्षेत्रको ग्रान्डस्लामका रूपमा परिचित छ।

प्लेअफमा अस्ट्रेलियाबाहेक एसिया/प्यासिफिक क्षेत्रका देशका खेलाडीले सहभागिता जनाउन पाउनेछन्। पुरुष र महिला दुवैतर्फ विश्व वरीयतामा १०५ वा सोभन्दा पछाडि रहेका खेलाडीका लागि प्रतियोगिता खुला गरिएको छ।

अभिषेकले एकल विधामा प्रतिस्पर्धा गर्नेछन्। उनले छनोट चरणका लागि उपलब्ध चार वाइल्ड कार्डमध्ये एक प्राप्त गरेका हुन्। छनोट चरणमा आठ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। त्यसबाट शीर्ष चार खेलाडी मुख्य ड्रमा प्रवेश गर्नेछन्। मुख्य ‘ड्र’ मा यसअघि नै वरीयताका आधारमा छनोट भएका १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उनी नेपालबाट चारपल्ट एसियाली खेलकुद खेल्ने खेलाडी हुन्।

अभिषेक अस्ट्रेलियन ओपनको एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफ खेल्ने पहिलो नेपाली खेलाडी हुन्। अभिषेकले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आए पनि राज्य र सम्बन्धित खेल संघबाट उचित सहयोग नपाएको गुनासोसमेत गरे।





Comments

comments

142023