नाट्यकर्मीका लागि दुर्घटना बीमा


सरुभक्तको लेखन र अनुप बरालद्वारा निर्देशित ‘थाङ्ला’को दृश्य। फाइल फोटोः @dipakbhattarai

एचकेनेपाल डट कम संवाददाता –
नेपाली नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघ (नाम नेपाल)ले नाट्यकर्मी दुर्घटना बीमा कार्यक्रम अगाडि ल्याएको छ।

नाट्यकर्मीको अधिकारको रक्षा तथा व्यावसायिक सुरक्षा एवं हीतका लागि स्थापित महासंघले नेपाली नाट्यकर्मीहरुका लागि अत्यावश्यक तथा यसअघि नसोचिएको यो कार्यक्रम ल्याएकोमा सबैले खुशी व्यक्त गरेका छन्।

सामान्यतया दुर्घटना बीमा भन्नाले सवारी दुर्घटना भन्ने मात्र बुझाईरहेको सन्दर्भमा महासंघले ल्याउन लागेको बीमा योजनाले सवारी दुर्घटनाका साथै कार्यस्थलमा हुने दुर्घटना अर्थात रंगमञ्चमा काम गर्दागर्दै हुन सक्ने दुर्घटना तथा सडक नाटकका क्रममा हुनसक्ने दुर्घटना आदि लगायत सबैखाले दुर्घटनाको जोखिम व्यहोर्ने उल्लेख गरिएको छ।

महासंघका महासचिव राजेन्द्र रिमालका अनुसार नेपाली नाट्यकर्मीहरुको काम जोखिमपूर्ण हुने तर त्यो जोखिम वहन गर्ने अहिलेसम्म राज्य वा अन्य कुनै निकायले सोच नै नबनाएको हुनाले महासंघले यो योजना ल्याएको बताए । भने, ‘ रंगमञ्चमा प्रकाश व्यवस्थापन, सेट निर्माण लगायतका काम गर्दा नाट्यकर्मीहरु जोखिममा हुन्छन्, सडक नाटकको क्रममा जोखिममा हुन्छन्, कुनै दुर्घटना भएमा अहिलेसम्म कहीं पनि भन्ने र सुन्ने निकाय छैन, त्यसैले यो अत्यावश्यक कार्यक्रम लिएर आएका हौं, सबै नाट्यकर्मीहरुलाई यो सुविधा लिन आग्रह पनि गर्दछु।’

दुर्घटना बीमा कार्यक्रममा सहभागी हुन महासंघको सदस्य भने हुनु पर्नेछ । त्यस्तै महासंघको आजीवन सदस्यको वार्षिक प्रिमियम पनि संस्थाले नै जीवन पर्यन्त व्यहोर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ।

‘नाट्यकर्मीको सामाजिक सुरक्षा हाम्रो पनि दायित्व हो भन्ने अभिप्रायले यो कार्यक्रम ल्याएको हो’ अध्यक्ष विजय विस्फोटले बताए । उनका अनुसार यो अहिलेको कार्यक्रम भनेको त सांकेतिक मात्र हो, यो राज्यको पनि दायित्व हो भन्ने संकेत गर्नका लागि हामी आफैले यो कार्यक्रम ल्याएका छौं, कलाकारलाई राज्यको सम्पत्ति ठान्ने हो भने कलाकार प्रतिको दायित्व निर्वाह गर्न राज्य बाध्य हुनु पर्छ।’

राष्ट्रिय बीमा संस्थान मार्फत बीमा गराउने योजना रहेको महासंघले बताएको छ । हालका लागि प्रत्येकको रु एक लाखको बीमा गराईने र आगामी दिनहरुमा यो रकममा बृद्धि गर्दै लैजाने योजना रहेको बताईएको छ।





Comments

comments

Leave a Reply

14211