खेलकुद मन्त्री श्रीपाइलीद्वारा सहाराको अवलोकन, पूरा होला त आश्वासन…?

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, २५ भदौ। खेलकुद मन्त्री दलजित श्रीपाइलीले पोखराको सहारा एकेडेमीको राज्यले स्वामित्व ग्रहण गर्ने बताएका छन्। सहारा क्लव पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीको शनिबार अवलोकनपछि बोल्दै मन्त्री श्रीपाइलीले यस्तो बताएका हुन्।

आफू सहारा एकेडेमीको अवलोकनको लागि त्यसै नआएको बताउँदै उनले भने,–‘म एकेडेमी अवलोकनका लागि त्यत्तिकै आएको होइन, म आउनुको पनि अर्थ छ, म अहिले आश्वासन त दिन्नँ तर एकेडेमीको अब राज्यले स्वामित्व लिन्छ ।’ उनले एकेडेमीको लागि के गर्ने भन्ने बारेमा प्रष्ट नभनेपनि केहि न केहि भने गरेरै छाड्ने प्रतिबद्धता जनाए । उनले भने,–‘म भन्दा पहिलेका मन्त्रीले पनि आश्वासन दिएका रहेछन्, त्यसैले तपाईंहरुलाई विश्वास नलाग्न सक्छ, कार्यान्वयन नगरेसम्म विश्वास नलाग्ने रैछ, म यस्तो धेरै ठाउँमा परेको छु, तर प्रोपोजल ल्याउनुस्, म केहि न केही गरेरै छाड्छु।

यसअघि सहारा एकेडेमी पुग्दा मन्त्री श्रीपाइलीलाई सहारा क्लवका अध्यक्ष बिरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीसहितका पदाधिकारी तथा सहारा एकेडेमीका वालकहरुले माला र खादा लगाएर स्वागत गरेका थिए । सो अवसरमा क्लवका अध्यक्ष आचार्यले क्लवको गतिविधि र एकेडेमीको अवस्था बारे मन्त्रीलाई जानकारी गराएका थिए । उनले वार्षिक क्यालेन्डर अनुसार सहयोग गर्ने वातावरण मिलाइदिन आग्रह गरे । उनले भने,–‘राज्यले सहयोग वार्षिक रुपमै गरिदिनु पर्यो, रातो किताबमै उल्लेख गरेर सहयोग आए योजना बनाएर काम गर्न सजिलो हुन्थ्यो।’

क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले आहा रारा गोल्डकपको आम्दानी र शुभचिन्तकहरुको सहयोगमा सञ्चालित सहारा एकेडेमीलाई बृहत रुप दिन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले यसअघिका मन्त्रीहरुले सहयोग गर्ने पटक/पटक आश्वासन दिएपनि सहयोग नगरेको गुनासो गरे । उनले राज्यले सहयोग गरे २८ जना वालकको क्षमता बढाएर एकसय पुर्याउन सकिने र त्यसबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने बताए।

क्रिकेट संघका निवर्तमान उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष दीपक कोइराला र जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष सुमन देवकोटाले सहाराले उदाहरणीय कार्य गर्दै आएको बताउँदै यसको प्रोत्साहनका लागि राज्यले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनीहरुले सहारा एकेडेमीलाई फुटवलको मात्र नभई स्पोर्ट एकेडेमीको रुपमा बिस्तार गरेर वालकहरुले चाहेको खेलमा तालिम दिएर दक्ष खेलाडी उत्पादन गर्न सकिने बताए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

14197