काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन्।
नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुई जनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको उन्नयनमा त्रिपाठी र अर्यालले ठूलो योगदान गरेको बताए । उनले साहित्यको विकासका लागि भाषा–शैलीमा आधुनिक वाक्यविन्यासलाई प्रयोगमा ल्याउँदा नेपाली भाषा थप गतिशील हुने विश्वास व्यक्त गरे।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखकले समाजमा भएका विसङ्गति र विकृतिका विरुद्ध साहित्य सिर्जना गरी आर्थिक तथा सामाजिक रूपान्तरणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
सम्मानित स्रष्टा त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताउँदै स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता र आर्थिक पीरमर्कालाई गहिरो अध्ययन तथा अनुभूतिमार्फत भाषा–कौशलका साथ यथार्थ रूपमा प्रस्तुत गर्नुपर्ने बताए। रासस

