गुण्डा नाईकेहरुको लाइसेन्सप्राप्त हतियार खोस्दै प्रहरी

लाइसेन्सप्राप्त हतियार आपराधिक गतिविधिमा प्रयोग हुन थालेपछि प्रशासनले हतियारको लाइसेन्स रद्द गर्न थालेको छ । प्रहरीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गुन्डागर्दीमा संलग्नको लाइसेन्सप्राप्त हतियार धमाधम खोस्न थालेको हो।

ललितपुर प्रशासनले गत महिना पक्राउ परेका वीरेन्द्र महर्जनको हतियारको लाइसेन्स रद्द गरेको छ । गुन्डागर्दीको आरोपमा गत महिना महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो । हतियार देखाएर उनले धम्क्याउने गरेको खुलेपछि लाइसेन्स रद्द गरिएको महानगरीय परिसर ललितपुर परिसरका एसएसपी पीताम्बर अधिकारीले बताए । उनका अनुसार हतियारको लाइसेन्स रद्द गरिएको यो पहिलोपटक हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ललितपुर प्रहरीकै सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि दुई गुन्डा नाइकेको हतियारको लाइसेन्स रद्दको प्रक्रिया सुरु गरेको छ । विश्वक्रान्ति सिंह र प्रकाश मालीको हतियारको लाइसेन्स रद्द गर्न सिफारिस गरिएको एसएसपी पीताम्बर अधिकारीले बताए । २३ चैतमा पक्राउ परेका सिंह हाल जेलमा छन् । उनको साथबाट अत्याधुनिक दुई हतियार र एक सय ५६ वटा गोली बरामद भएको थियो । पिएस ६४४६४ नम्बरको सर्टगन र यान लेखिएको ३७५ बोरको राइफल उनको निवासबाट प्रहरीले बरामद गरेको थियो । माली पनि ललितपुरमा लामो समयदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन् । केही महिनाअघि ग्याङफाइटमा पक्राउ पर्दा उनीसँग लाइसेन्सप्राप्त हतियार भएको खुलेको हो।

सिंह र मालीले लाइसेन्सप्राप्त हतियारकै आधारमा धम्क्याउने गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले सरकारबाट लाइसेन्सप्राप्त हतियारकै आधारमा अपराध गर्दै आएको पाइएपछि रद्द गर्ने प्रक्रिया सुरु गरेका हौँ,’ एसएसपी अधिकारी भन्छन्, ‘लाइसेन्सप्राप्त हतियारले समेत समाजमा आतंक फैलाउने गरेको देखियो।’

हतियार राख्ने व्यक्तिमाथि निगरानी नहुँदा दुरुपयोग बढेको प्रहरी अधिकारीहरू बताउँछन् । नेपालमा १५ हजारभन्दा धेरैले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, धेरैले नवीकरण गरेका छैनन् । गृह मन्त्रालयसँग कतिले हतियारको नवीकरण गरेका छन् भन्ने तथ्यांक छैन । तथ्यांक संकलनको काम भइरहेको गृहप्रवक्ता यादव कोइराला बताउँछन् । जुनसुकै जिल्लामा पनि नवीकरण गर्न सक्ने भएकाले हतियार नवीकरणको तथ्यांक अस्तव्यस्त हुने गरेको छ। व्यवस्थित बनाउने काम भइरहेको पनि गृहप्रवक्ता कोइरालाले बताए।





Comments

comments

Leave a Reply

14237