ब्रिटिस गोर्खाको वंशज नागरिकता निरन्तरताका विषयमा गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

–

काठमाडौँ, ब्रिटिस गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरताको मागका सम्बन्धमा ‘ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान’ (बीजीएनसीसीसी) को प्रतिनिधिमण्डल र गृह मन्त्रालयका पदाधिकारीबिच मङ्गलबार सिंहदरबारमा करिब दुई घण्टा लामो छलफल भएको छ।

गृह उपसचिव एवं नागरिकता विभाग प्रमुख उमाकान्त अधिकारीसँग भएको उक्त छलफलमा अभियानका कानुनी सल्लाहकार एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (एनएफडीआईएन) का कार्यकारी प्रमुख राम मादेन, अभियान निर्देशक अधिवक्ता योगिता राई, प्रमुख संयोजक (युके–नेपाल) सन्तोष थलङ, प्रमुख सल्लाहकार कृष्णबहादुर राई, युके संयोजक लेफ्टिनेन्ट हरिबहादुर गुरुङ र नेपाल संयोजक फुर्वा ग्याल्जेन शेर्पाको सहभागिता रहेको थियो।

छलफलको सुरुवात गर्दै प्रमुख संयोजक सन्तोष थलङले ब्रिटिस गोर्खाहरूका लागि वंशजको नेपाली नागरिकता निरन्तरता किन आवश्यक छ र कुन आधारमा पाउनुपर्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो। सोही विषयलाई प्रमुख सल्लाहकार कृष्णबहादुर राईले थप पुष्टि गर्नुभएको थियो भने अभियान निर्देशक अधिवक्ता योगिता राईले गोर्खाहरूको ऐतिहासिक पृष्ठभूमि र कानुनी पाटोबारे स्पष्ट पार्नुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख राम मादेनले गोर्खाका मागलाई अल्पकालीन र दीर्घकालीन गरी दुई चरणमा सम्बोधन गरिनुपर्ने सुझाव दिनुभयो। उहाँले दीर्घकालीन समाधानका लागि संविधान संशोधन गरिनुपर्ने र तत्कालका प्रशासनिक एवं कानुनी झन्झटबाट मुक्त गर्न नागरिकता ऐन संशोधन गरेर भए पनि अल्पकालीन निकास दिनुपर्ने तर्क राख्नुभयो।

यस्तै, युके संयोजक हरिबहादुर गुरुङ र नेपाल संयोजक फुर्वा ग्याल्जेन शेर्पाले नागरिकता निरन्तरताको स्पष्ट संवैधानिक एवं कानुनी व्यवस्था नहुँदा गोर्खा र तिनका सन्ततिहरूले भोग्नुपरेका व्यावहारिक कठिनाइबारे उदाहरणसहित ध्यानाकर्षण गराउनुभएको थियो।

छलफलमा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले गोर्खाहरूले वंशजको नागरिकता निरन्तरता पाउने संवैधानिक तथा कानुनी आधार प्रस्तुत गर्नुभयो। उहाँले राज्यले गोर्खाहरूलाई ‘गैरआवासीय नेपाली’ (एनआरएन) को पङ्क्तिमा राखेर हेर्न नहुनेमा जोड दिँदै संविधानमै ब्रिटिस गोर्खाका लागि विशेष प्रावधान राखिनुपर्ने बताउनुभयो।

प्रतिनिधिमण्डलको जिज्ञासाको जवाफ दिँदै उपसचिव एवं विभाग प्रमुख उमाकान्त अधिकारीले दीर्घकालीन समाधानका लागि संविधान संशोधनको विकल्प नरहेको स्विकार्दै त्यसका लागि विभागबाट रचनात्मक पहल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, अल्पकालीन समाधानका लागि सरकारले चाँडै एक विशेष प्रकारको परिचयपत्र जारी गर्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली नागरिकता नलिएका र राष्ट्रिय परिचयपत्र प्राप्त नभएका डायस्पोराका नेपालीहरूलाई यस परिचयपत्रले राजनीतिक अधिकारबाहेकका सम्पूर्ण सेवा–सुविधा उपभोग गर्ने बाटो खोल्नेछ।”

उपसचिवको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै ब्रिटिस गोर्खा प्रतिनिधिमण्डलले यदि अल्पकालीन समाधानका रूपमा विशेष परिचयपत्र वितरण गर्ने हो भने त्यसमा स्पष्ट रूपमा ‘ब्रिटिस गोर्खा’ भनी उल्लेख गरिनुपर्ने सर्त राखेको छ। परिचयपत्रमा गोर्खाको पहिचान खुलेमा मात्र त्यसले भविष्यमा संविधान संशोधनका लागि बलियो आधार तयार गर्ने प्रतिनिधिमण्डलको निष्कर्ष छ।
– सन्तोष थलङ





Comments

comments

142568