तमु धिं नेपालको अध्यक्षमा फेरि कर्म तमु नै

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १७ असोज। तमु जातिको पुरानो साझा संस्था तमु धिं नेपालको सोमवार सम्पन्न ३२ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनले पुनः जोगीमणी तमु समाजकी कर्म तमुको अध्यक्षतामा आगामी चारवर्षका लागि पदाधिकारी निर्विरोध चयन गरेको छ।

धिंको प्रथम उपाध्यक्षमा सोंपाल तमु समाजकी सरस्वती तमु, द्धितिय उपाध्यक्षमा चारभञ्ज्याङ तमु समाजका हुमबहादुर तमु, महासचिवमा दीप तमु समाजका गिरीप्रसाद तमु, सचिवमा मिलीजुली विजयपुर तमु समाजकी जुनाकुमारी तमु, सहसचिवमा फिर्के तमु समाजका तर्फबाट दुर्गाबहादुर तमु, कोषाध्यक्षमा दुधपोखरी तमु समाजका सुवेदार मेजर श्रीप्रसाद तमु र सहकोषाध्यक्षमा तमु सहयोग समिति पार्दीका सुवेदार तुलबहादुर तमु चयन हुनुभएको छ।

आगामी नेतृत्वका लागि निर्वाचन समितिले कार्यतालिका अनुसार उम्मेदार आव्हान गर्दा पदाधिकारीको सम्पुर्ण पदमा एकल उम्मेदवारी दर्ता भई निर्विरोध भए पनि अधिवेशनमा निर्वाचन समितिका सदस्य अम्बरबहादुर तमुले निर्विरोध भएको आधिकारीक घोषणा गर्नुभएको हो।

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक गणेशबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । निर्वाचित पदाधिकारीहरुलाई समाजहरु तर्फबाट र सहभागीहरुले फूल, माला, खादाद्धारा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरिएको थियो।

यस अघि साधारणसभा तथा अधिवेशनको विश्वयुद्धका योद्धा परिवारका जेष्ठ नागरिक १०३ वर्षिय श्रीकुमारी तमुले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि रामबजारकी श्रीकुमारी तमुलाई घलेक, विशेष अतिथि याङ्जाकोट तमु समाजका विश्वयुद्धका योद्धा १०३ वर्षिय लालबहादुर तमु र अमरसिंहका ९८ वर्षिय कुलबहादुर तमुलाई भाङ्ग्रा र खादाद्धारा सम्मान गरिएको थियो।

कार्यक्रममा नवनिर्वाचित गुरुङ पर्यटन व्यवसायी संघ पश्चिमाञ्चलका कार्यसमिति, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष लगायत कार्यसमिति, आदिवासी हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषदाता योगेश गुरुङ र मीना गुरुङ, तमु सहयोग समिति पार्दीका निर्वतमान अध्यक्ष क्या.चेतबहादुर गुरुङ, सोंपाल तमु समाजका निवर्तमान अध्यक्ष क्या.धनबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो।

साधारणसभामा तमु धिं नेपालका सचिव गिरीप्रसाद तमुले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद तमुले पेश गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

कार्यक्रममा सम्मानित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले तमु धिं नेपाललाई हार्दिक धन्यवाद व्यक्त गर्नुहुदै पोखरा क्षेत्रको समृद्धिका लागि तमु धिंमा तमु संग्रहालय स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, तमु धिं नेपालमा साँस्कृतिक संग्रहालय निर्माण गर्न सकिए पर्यटकीय शहर पोखरामा पर्यटकका लागि आकर्षण थप अर्को केन्द्र बन्ने बताउनुहुदै पोखरा उद्योग वाणिज्य संघको तर्फबाट संग्रहालय निर्माणका लागि सक्दो साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफु नेवार कुलमा जन्मे पनि हरेक गतिविधी, धर्मकर्मले आफु आधार गुरुङ भएको बताउनुभयो।

अर्का सम्मानित गुरुङ पर्यटन व्यवसायी संघ पश्चिमाञ्चलका अध्यक्ष बोबरजंग तमुले पर्यटन प्रवद्र्धन, तमुहरुलाई व्यवसायिकरण र समुदायका हितका लागि संघ तमु धिं नेपालसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले तमुहरुले अब बैदेशिक रोजगारीमा मात्रै नभनेर देशमै व्यवसायी, प्रसासनिक क्षेत्र, शिक्षा र राज्यको हरेक निकायमा स्थान बनाउनुपर्ने बताउनुभयो।

सम्मानित उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य चिनु तमुले तमु धिं नेपालले सम्मान गरेको धन्यवाद व्यक्त गर्नुहुदै आफ्नो जित तमु समुदायको जित भएको बताउनुभयो । तमुहरु विच एकता, व्यवसायिकता, हरेक क्षेत्रमा नेतृत्वका लागि तमु धिं नेपालले पहल गर्नुपर्ने सुझाव दिनुहुदै साथ सहयोग पाए पोखरा उद्योग वाणिज्य संघकै नेतृत्व गर्ने क्षमता आफुमा रहेको दावी गर्नुभयो।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकाजी तमु करणले पहिचान, स्वायत्तता लगायतको अधिकार नपाए पनि थप अधिकारका लागि अघि बढ्ने बाटो अहिलेको संविधानले दिएको बताउनुभयो । उहाँले जारी गरिएको संविधान हाम्रो पक्षमा पुर्ण रुपमा नआए पनि संविधान सबै बेठीक भन्ननहुने बताउनुहुदै तमुवान, पहिचान, स्वायत्तता, अधिकार प्राप्तिका लागि सबै एक हुन आग्रह गर्नुभयो।

आदिकवि हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषदाता योगेश तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै सबै तमुहरु एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो।

प्रमुख अतिथि श्रीकुमारी तमुका प्रतिनीधि तेजबहादुर तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमुहरुको एकता, समृद्धि, समुदायको हितका लागि सबैको भावना एक हुनुपर्छ भन्दै प्रमुख अतिथि तमुको तर्फबाट २५ हजार ५२५ रुपैया तमु ंिधं नेपालकी अध्यक्ष कर्म तमुलाई हस्तान्तरण गर्नुभयो।

यसरी नै विशेष अतिथि १०३ वर्षिय लालबहादुर तमुको परिचय प्रस्तुत गर्नुहुदै छोरा युवराज तमुले विश्वयुद्ध लडेका योद्धाहरुको सम्मान सबै जेष्ठ नागरिक र गोर्खाहरुको सम्मान भएको बताउनुहुदै तमु धिं नेपाललाई १० हजार रुपैया सहयोग प्रदान गर्नुभयो।

प्रमुख अतिथि श्रीकुमारी तमुको परिचय तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर तमुले गराउनुभएको थियो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रुद्रकुमारी तमु मैना रोयल सहकारीको उपाध्यक्ष र सदस्य दुर्गाबहादुर तमु बाराही वचत तथा ऋण सहकारीको अध्यक्षमा चयन हुनुभएकोमा सम्मान गरिएको थियो भने अध्यक्ष कर्म तमुले तमु धिं नेपालले ३ करोड १५ लाख रुपैयामा खरिद गरिएको जग्गामा बहुउद्धेश्यीय भवन निर्माणको लागि योजना रहेको बताउनुभयो।

कार्यक्रममा महासचिव रुद्रकुमारी तमु मैनाले स्वागत, सचिव गिरीप्रसाद तमु र सहकोषाध्यक्ष सरस्वती तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

14509