Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै, किन लक्ष्मीपूजा मानिन्छ? यस्तो छ कारण…

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १४ कार्तिक । यमपञ्चक अन्तर्गत तेस्रो दिन आज साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ।

आज साँझ बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरका सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ। लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चर्ढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन्।

लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ। लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ।

आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन्। यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ।

सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले विष्णुलाई सन्तुष्ट पारी दानशीलताको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ।





Comments

comments

Leave a Reply

14799