एक वर्षअघि हराएको अल्ट्रालाइट जहाज हिमालको खोँचमा भेटियो

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, २८ कात्तिक। एक वर्षअघि हराएको अल्ट्रालाइट जहाज आइतबार फेला परेको छ।

पोखरा अल्ट्रालाइट कम्पनीको ९ एन एएलआई कलसाइन भएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी पोखराका प्रवक्ता एसएसपी कृष्णभक्त ब्रमाचार्यले बताए।

पोखरा बिमानस्थलबाट उडेको जहाज गत वर्ष असोज २१ गते हराएको थियो । सो जहाजमा रसियन पाइलट म्यालरी बुटेरिन र दक्षिण अफ्रिकी महिला एलिजाबेथ थिए।

समुन्द्र सतहदेखि करिब १२ हजार फिट उचाइमा टुक्राटुक्रा अवस्थामा जहाज र मानिसको शरीरको हाड फेला परेको उनले बताए । बेपत्ता जहाजसहित दुई व्यक्तिको शरीरका हाड मात्र फेला परेको एसएसपी बज्राचार्यले बताए। रसियन पाइलट ५० वर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए।

एसएसपी बज्राचार्यको अनुसार हाड र जहाजको पांग्रा संकलन गरेर पोखरा ल्याइएको छ । ‘जहाज ठोकिएर जलेको हुन सक्छ,’ उनले भने, ‘इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको पाइएको छ ।’ पर्यटन व्यवसायीले जहाज फेला पारेको भनेपछि आफूले दुई जनाको एउटा टोली खटाएको एसएसपी बज्राचार्यले बताए।

प्रहरी हवल्दारद्वय पूर्णलाल देबकोटा र तेजेन्द्र बुढा हेलिकोप्टरबाट घटनास्थल पुगेका थिए।

६ वर्ष अघि सोही क्षेत्रमा यस्तै दुर्घटना भएको एसएसपी बज्राचार्य सम्झन्छन् । ‘एउटा फ्रान्स नागरिक र अर्को बुल्गेरियन नगरिकको पनि सोही क्षेत्रमा भएको दुर्घटनामा ज्यान गएको थियो,’ उनले भने, ‘मृत्यु हुनेमा फ्रान्सेली जम्स प्यारामोटर र बुल्गेरियन कुमानोभ प्याराग्याडर थिए।’





Comments

comments

Leave a Reply

15002