अतिक्रमण हटाउन पोखरामा चल्यो डोजर

अर्जुन गिरी –
पोखरा, ४ मसिर । पोखरा उपमहानगरपालिकाले पृथ्वीराजमार्गको सडकको दायाँबाँयाँ मापदण्डभित्रका अस्थायी संरचना तथा निर्माण सामग्री हटाउने अभियान ‘राइट अफ वे क्लियरेन्स’ सुरु भएको छ । यसअघि तीनपटकसम्म सूचना जारी गरे पनि काम अघि बढाउन नसकेको नगरपालिकाले शुक्रबार भने वियजपुरदेखि पृथ्वीचोकसम्मका संरचना डोजर लगाएर हटाउन थालेको हो।

यसअघि नगरपालिकाले कात्तिक १९ गतेभित्र त्यस्ता सामग्री हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यसबेला व्यस्तताको कारण देखाउँदै उप–महानगरपालिकाले कात्तिक २५ गतेसम्मका लागि भन्दै अर्को सूचना जारी गरेपनि हटाउने अभियान सुरु गरेन । त्यसपछि अन्तिमपटकका लागि भन्दै मंसिर २ गतेसम्मको समयसीमा तोकेको थियो । शुक्रबार चाउथे क्षेत्रका टहरा, निर्माण सामग्री तथा होर्डिङ बोर्ड हटाइएको छ।

पोखरा उपमहानगरपालिकाले विजयपुर पुलदेखि पृथ्वीचोकसम्म सडकको दायाँबायाँ मापदण्डभित्रका अस्थायी संरचना तथा निर्माण सामग्री हटाउन डोजर चलाएको हो । पटक–पटक सार्वजनिक सूचना जारी गरी हटाउन अनुरोध गरे पनि अटेर गरेका हुनाले पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुंगानाले शुक्रबार डोजर चलाएरै हटाउन निर्देशन दिएका हुन् । उपमहानगर पालिकाले पोखरा उपत्यका नगर विकास समिति, डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सडक मापदण्ड कार्यान्वयन थालेको हो।

उप–महानगरपालिकाले सकडको बीच भागलाई केन्द्र बिन्दु बनाई दायाँबायाँ ७५ फिट मापदण्डभित्र परेका अस्थायी संरचना, निर्माण सामग्री लगायत अन्य सामग्रीहरु हटाएको हो । जस अनुसार सडक १ सय ५० फिटको मापदण्डभित्र पर्ने छ । पहिलो चरणका लागि पृथ्वीचोकदेखि विजयपुर पुलसम्ममात्रको योजना छ । त्यसपछि भने विजयपुरदेखि कोत्रेसम्मै दोस्रो चरणमा पुर्याइने नगरपालिकाले जनाएको छ।

अभियानलाई साथ दिन सडक विभाग, पोखरा उपत्यका नगरविकास समिति, जिल्ला विकास समिति, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि पत्रकार लगायत संसस्थाहरुको सहभागिता थियो।

सडकको दुवै किनारतिर निर्माण सामग्री राखेर अतिक्रमण भइरहेको छ । थुप्रै ठाउँमा सडक मापदण्डभित्र सुकुम्बासी बस्ती पनि छ । पसल, वर्कसप होर्डिङ बोर्डहरुबाट पनि सडक मापदण्ड अतिक्रमण भएको छ।

२०७० सालमै सडक विभागले मापदण्डभित्रका संरचना हटाउन निर्देशन दिएको थियो । तर कार्यान्वयनमा नगरपालिका उदासीन थियो । नयाँ कार्यकारी अधिकृत नवराज ढुंगानाले पोखरा प्रवेश बिन्दुदेखि नै सफाइ सुरु गर्ने अभियान थालेका हुन् । उनले यो अभियानमा स्थानीयबाट कुनै अवरोध नभएको जानकारी दिए । ‘पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि सडक दायाँबायाँ राखिएका सामग्री नहटाएकाले डोजर चलाउनुपरेको हो,’ उनले भने।





Comments

comments

Leave a Reply

15092