राज्यले विर्से पनि जनताले यसरी मनाए पृथ्वीजयन्ती…

काठमाडौ – सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राजधानीको सिंहदरबार अगाडि पृथ्वीको सालिकमा बुधबार बिहानैदेखि अलगअलग भेषभूषामा सजिएका विभिन्न समूहले झाँकी एवं बाजागाजासहित उपस्थित भएर माल्यार्पण गरे भने कतिपय शैक्षिक संस्था एवं संस्थानहरूले उनको सम्मानमा बिदा पनि दिएका छन् । देशका विभिन्न भागमा पनि उनको सम्मानमा कार्यक्रमहरू आयोजना भएका छन्।

राष्ट्रिय एकताका प्रतीक शाहको जन्मदिनमा सार्वजनिक बिदा माग भइरहेको बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्व र अन्य बिदाका सम्बन्धमा पुनरावलोकन गर्ने निर्णय गरेको छ । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय, कुन क्षेत्रीय र आञ्चलिक रूपमा दिने भन्ने निर्क्योल गरिनेसमेत मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

क्रिसमसमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले पृथ्वीको अपमान गर्दै बिदा नदिए पनि मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी पाएको गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरीको ब्यान्डले भने राजकीय धुनसहितको उनलाई सम्मान अर्पण गर्‍यो।

गोर्खा समाजले पृथ्वीको तस्बिरलाई मोटरमा विशेष सजावटका साथ सजाउँदै नगर परिक्रमा गराएको थियो भने समाजको सहयोगमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । शिव सेना नेपालले एक सय आठ मिटर लामो पुष्पहार अर्पण गरेको थियो।

शाहप्रति सम्मान अर्पण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता, नेकपा (माले), पूर्वमन्त्री केशरबहादुर विष्टको नेतृत्वमा एकीकृत राष्ट्रवादी शक्ति, पृथ्वीनारायण विचार अभियान राष्ट्रिय एकता तथा दुई सय ९५औं शाह जयन्ती नागरिक मूल समारोह समिति, २५ प्लस काठमाडौं, विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, गुरुङ सेवा समिति, शाही युवा शक्तिलगायत विभिन्न क्लब आफ्नो पहिचानसहित सहभागी भए।

शाहप्रति श्रद्धाञ्जलि दिन आउने कतिपय सहभागीको एकै आवाज थियो, ‘वर्तमान नेतृत्वले मुलुकलाई असफलतातर्फ धकेलेकाले अबको विकल्प भनेको २०४७ सालको संविधान ब्युँत्याउनु र जनताले विदेशी शक्तिका मतियारबाट राज्यसत्ता खोस्नु हो।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

15863