गुण्डा नाइकेद्वय माली–खड्काको ललितपुरमा आतंक

ललितपुर, २७ माघ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीको सरुवासँगै ललितपुरमा गुण्डाहरुको आतंक मच्चिन थालेको छ।

कथित ‘डन’ दीपक मनाङ्गेका अगाडि–पछाडि गर्ने एकहुल समूहले आजकाल ललितपुर जिल्लामा जवर्जस्ती असुली र चन्दा आतंक मच्चाएको पीडितहरु बताउँछन्। यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कुनै बेला दीपक मनाङ्गेसँग लागेर अकुत सम्पत्ति कमाएका गुण्डा नाइके प्रकाश माली र युवराज खड्काको समूहले ललितपुर जिल्लाको मालमोत र नापी कार्यालय तथा त्यसका शाखाहरूमा आफ्ना ‘भरौटे’ लाई राखेर दादागीरी मच्चाएका हुन्।

माली र खड्काको समूहबाट आजित बनेका स्थानीय व्यापारी, जग्गा व्यापारी, जग्गा दलाल र सर्वसाधरले उजुरी गरेपछि ललितपुरका एसपी अशोक सिंहले यो समूहलाई पक्राउ गरेर सार्वजनिक मुद्दा समेत चलाएका थिए । प्रहरी प्रशासनमा मुद्दा चलिरहँदा समेत धरौटीमा रिहा भएका माली र खड्काले आफ्ना ‘भरौटे’ हरू परिचालन गरेर रकम उठाउने गरेको स्रोतको भनाई छ।

विशेष गरेर यो समूहले अहिले ठूला व्यापारीहरूलाई आफ्नो निशाना बनाई रहेको छ । कुनै व्यापारीले राम्रो कारोबार गरेको थाहा पाउनेवित्तिकै माली र खड्काको समूहले आफ्ना केटाहरूलाई पठाएर पैसा असुल्ने गरेको आरोप छ । पीडितहरूले माली–खड्का समूहविरुद्ध पटक पटक उजुरी दिए पनि कुनै कडा कारबाही नभएको गुनासो गरेका छन् । ललितपुर जिल्लामा हुने अधिकांश आपराधिक क्रियाकलापमा माली र खड्काको समूह संलग्न हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ।

प्रहरीले पनि माली र खड्काको समूहलाई कडा निगरानीमा राख्दै आएको छ । प्रहरी प्रशासनको निगरानीमा रहे पनि राजनीतिक आडमा माली र खड्का समूहमाथि सोचेजस्तो कारबाही गर्न सकेको छैन । अहिले ललितपुरमा हुने अधिकांश ठेक्कापट्टा, रेष्टुरेन्ट तथा प्लटिङमा यो समूहको हाली मुहाली रहेको स्रोतको भनाई छ। यूनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

16189