Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चोरेर बेचिएका बालक आठ महिनापछि भेटिए

जनकपुरधाम, ६ असोज। आठ महिनाअघि चोरेर एक लाख रुपैयाँमा बेचिएका सातमहिने बालक सकुशल परिवारमा फिर्ता आएका छन्। जनकपुर नगरपालिका-७ स्थित मिथिला आश्रममा कुष्ठरोगीलाई हेरचाह गर्दै आएका सबैला गाविस-१ का प्रकाश मण्डल र गीता मण्डलका सातमहिने छोरा मंगल गत माघमा घरबाटै चोरिएका थिए।

मण्डल दम्पतीले छोरा चोरी भएको भन्दै त्यसै बेला जिरोमाइल प्रहरीचौकीमा उजुरी गरेका थिए। तर प्रहरीले ‘तिमीहरू आफैंले बच्चा बेचेका हौला’ भन्दै आफूलाई गाली गरेर फिर्ता पठाएको मण्डलले बताए। त्यसपछि छोरो खोजी गरिदिन भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिए।

घटना भएको आठ महिनापछि पूर्वी धनुषाको सोनापारा गाउँस्थित एक घरमा चोरी भएर पक्राउ परेका व्यक्तिबाट मंगल चोरेर बेचिएको तथ्य पत्ता लागेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। चोरी आरोपमा पक्राउ परेका चारजनाले प्रहरी अनुसन्धानका क्रममा आफूहरूले एउटा बालक चोरेर बेचेको बयान दिएपछि मंगललाई फेला पार्न सकिएको प्रहरी उपरीक्षक गणेश थापाले बताए।

चोरी आरोपमा पक्राउ परेका महोत्तरी-८ का ३५ वर्षीय शत्रुघन यादव, धनुषा औरही-९ का ३३ वर्षीय राजेश मण्डल, २९ वर्षीय गुलिया पासवान र झौझीकटैया-६ का ५० वर्षीय किशोरी मण्डलले जनकपुरबाट बालक चोरेर महोत्तरी हरिनमरिन-१ की सुनिता महरालाई एक लाख रुपैयाँमा बेचेको स्वीकारेका थिए।

बालक किन्ने सुनितालाई चिकित्सकले आमा बन्न नसक्ने बताएपछि उनले कतै त्यस्तो बालक पाए राम्रो रकम तिरेर किन्ने छिमेकीसँग बताएकी थिइन्। त्यस्तो जानकारी पाएपछि यी चारैजनाले मिलेर मंगललाई चोरेको पत्ता लागेको प्रहरी उपरीक्षक थापाले बताए। सुनिताका पति भने वैदेशिक रोजगारीमा छन्।





Comments

comments

1620